‘प्रश्नले मेरो देशप्रेमको भावना घटेको छैन’

देशको वर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन गरेर मात्र हामी हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्छौँ । यि नै उपकरणको अधिकतम प्रयोगबाट हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ भन्ने ध्येयका साथ आर्थिक बर्ष ०७९–८० को बजेट आएको छ ।

मुलुकको अर्थतन्त्रलाई ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समस्टिगत आर्थिक स्थिरतातर्फ, बञ्चितिकरणबाट समावेशीतातर्फ’ प्रस्थान गर्ने गरी बजेट प्रस्तुत गरिएको छ । मुख्यगरी देशको अर्थतन्त्रका बारे चिन्तित भएको कुरा बाहिर आइरहेको छ र यो चिन्तालाई सम्बोधन गर्ने बजेट आयो कि आएन भनेर विश्लेषण गर्नुपर्ने खाँचो छ ।

बजेटमा राखिएका विषयहरू स्पष्ट छन् । कतिपयले पूर्वाग्रह राखेर अर्थमन्त्रीको वर्गीय दृष्टिकोण नै विचलन भयो भन्ने आरोप पनि लगाएका छन्, ती प्रश्न उठानकर्तालाई धन्यवाद छ । जे जस्ता प्रश्न उठेका छन्, त्यसले मेरो देशप्रेमको भावना घटेको छैन, कति पनि विचलन आएको छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु ।

हाम्रो देशमा स्रोत साधन र जनशक्तिको कमी होइन । इच्छाशक्ति, खोज, प्रतिबद्धता र इमानदारिताको साथ काम गर्ने हो भने हामीसँग सबै कुरा उपलब्ध हुन्छन् । हामीसँग भएको प्राकृतिक स्रोत साधन, सम्पत्ति र पुँजीको एकीकृत परिचालन गर्नु मात्रै हाम्रा लागि आजको आवश्यकता हो । युवा व्यवसायी तथा व्यवसायमा आउन चाहने युवाहरुले स्टार्टअपमा देखाएको चासो, उर्जा, मेहनत र प्रतिबद्धताले के देखाइरहेको छ भने हाम्रो स्रोत साधन र क्षमतालाई समग्रमा उपयोग गर्न सकिरहेका थिएनौं, तर, अब ढिला नगरी हामी अघि बढ्नुपर्ने बेला आएको छ ।

औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न के गर्नुपर्छ भन्ने कुरा यस क्षेत्रका उद्योगी, व्यवसायीबाट प्राप्त सुझावकै आधारमा बजेटमा समावेश गरिएको छ । उत्पादन बढाई निर्यात वृद्धि गर्ने र निर्यात गर्ने उद्योगीलाई सरकारले मदत गर्ने नीति बजेटमार्फत लिइएको छ र अहिले यही नीति अगाडी बढिरहेको छ ।

जुन देशमा उद्योगलाई प्राथमिकता दिने र निकासीलाई प्रोत्साहन गर्नेगरी सरकारले व्यवसाय र उद्योगमैत्री नीति ल्याएकाृे छ, त्यहाँ बजेटको बिरोध हुनु दुःखद पक्ष हो । बजेटमार्फत हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रको वृहत उत्पादनमा ध्यान दिइएको छ । ३० प्रतिशतका दरले कृषि बस्तुको आयात प्रतिस्थापन गर्ने लक्ष्य राख्दै कृषि क्षेत्रलाई रुपान्तरण गर्ने कार्यक्रम ल्याइएको छ ।

पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर लाखौं पर्यटन भित्र्याउने अवधारणाका साथ कार्यक्रम राखिएको छ । नेपालमा मात्रै रहेको सगरमाथा जाने, हेर्ने र चढ्ने लाखौंको चाहना छ । त्यहाँसम्म पुग्ने बाटो सजिलो बनाइदियो भने कति लाख मानिसहरु आउलान्, त्यतापट्टि बजेटमार्फत सोचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित