मुख्यमन्त्रीका पिताको नाममा कोष बनाउन ५० लाख बजेट

पोखरा । गण्डकीमा मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेताहरूले आफ्ना स्वर्गीय मातापिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा करोडौँ रकम छुट्याइएको पाइएको छ । स्वर्गीय मातापिताको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय नेता अर्जुनप्रसाद जोशीसमेत छन् ।

मुख्यमन्त्री पोखरेलका आफ्ना स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । व्यास नगरपालिका १० मा गोवर्द्धन स्मृति कोषका लागि भनेर सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा ट्रस्ट बनाउन दुई फरक शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । खर्च शीर्षक २६४१३ अन्तर्गत छुटेका कार्यक्रम भनेर एउटै शीर्षकमा ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा ५० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम कार्यान्वयन स्वयम् मन्त्री मेखलाल श्रेष्ठको मन्त्रालयले नै गर्ने छ । त्यस्तै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुनेगरी सोही ट्रस्टको भवन निर्माणक लागि भनेर पनि समान ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ट्रस्टको भवन भिरकोट नगरपालिका १ मा बन्ने छ ।

दुईवटा शीर्षकमा एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले छुटेको कार्यक्रम समावेश भएर आएको प्रतिक्रिया दिए । “ट्रस्ट भनेको सरकारी हो, व्यक्तिको हुँदैन । नियमसंगत रूपमा दर्ता भएर आएको हो । मन्त्रालयगत रूपमा कार्यक्रम छुटेको थियो । ज्येष्ठ नागरिक सम्मान र महिला जागृति अभियाना, सशक्तीकरण गर्ने र उद्यमशील बनाउने कार्यक्रम हो । छुटेको रकम हालिएको हो, कुनै व्यक्तिको होइन,” उनले भने ।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुश्मा नगरपालिका ८ मा उक्त स्मृति पार्कको लागि कार्यक्रम थपेर २० लाख रुपैयाँ छुट्याइएको हो ।

पर्वतकै अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन भनेर गण्डकी सरकारले २० लाख बजेट विनियोजन गरेको छ । लामिछानेकी श्रीमती सीताकुमारी काफ्ले कुश्मा नगरपालिकाकी निवर्तमान उपमेयरसमेत हुन् । मेयरमा दाबी गरेपनि अन्तिममा उनलाई पार्टीले टिकट दिएन ।

लामिछानेको नाममा स्मृति प्रतिष्ठान भवन बनाउन भनेर सरकारले २० लाख रुपैयाँ बजेट छुट्याएको हो । थप स्रोत सुनिश्चितता गरेर सञ्चालन हुने यी आयोजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयमार्फत हुने छ ।

प्रदेश सभामा असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेस भएपनि आफ्ना कार्यक्रमहरू छुटेको भन्दै अर्थमन्त्री रामजी बरालसँग अन्य मन्त्रीहरू र सत्ता गठबन्धनका सांसदहरू नै रिसाए ।

जसले गर्दा बजेटमाथिको छलफल तीन सातासम्म पनि सुरु हुन सकेन । अन्तिममा अर्थमन्त्रीले बजेट सच्याउने र कार्यक्रम थप्ने प्रतिवद्धता जनाएपछि गत सोमबारदेखि प्रदेश सभा बैठक सुचारु भएको छ । प्रदेश सभामा अहिले बजेट वक्तव्यमाथिको छलफल सकिसकेको छ भने वार्षिक विकास कार्यक्रम पनि पेस भएको छ ।

वार्षिक विकास कार्यक्रमसँगै योजना संशोधन गरेर सेतो पुस्तक पनि ल्याइएको छ । तर, उक्त पुस्तक नेताका अभिभावकको नाममा करोडौँ बजेट विनियोजन गरेर ल्याइएको छ । सेतो किताबमा मात्रै वडा नम्बर १६ मा ६ करोड ८ लाख रुपैयाँका योजना थपिएका छन् । भौतिक पूर्वाधार विकास, सहरी तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको गृहवडा पनि यही हो ।

सबैभन्दा बढी बजेट उनकै वडामा परेको भन्दै प्रदेश सभा बैठकमा सत्ता गठबन्धनदेखि प्रतिपक्षका सांसदहरूले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित