ठेक्का लागेको १० वर्षमा पनि बनेन सडक

मोरङ। ठेक्का लागेको १० वर्षमा पनि उर्लाबारी–रबी सडक निर्माण हुन सकेको छैन । प्रेरा-ज्योती जेभी कन्स्ट्रक्सन खुमल्टार, ललितपुरले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ जेठ २४ गते ठेक्का सम्झौता गरे पनि हालसम्म काम सम्पन्न गरेको छैन ।

स्थानीयहरूले भने तत्काल सडक निर्माण गर्न र निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद नथप्न मंगलबार सडक डिभिजन कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय ३ नम्बर विराटनगरले १६ करोड ७४ लाख ५६ हजार ५ सय ९१ रुपैयाँ लागतमा उर्लाबारीदेखि इलामको सिमाना तोरीबारीसम्म १२ दशमलव ४ किलोमिटर सडक निर्माणका लागि ठेक्का लगाएको थियो ।

निर्माण कम्पनीले ४६ दशमलव ३६ प्रतिशत कम मूल्यमा ८ करोड ९८ लाख २९ हजार १७ रुपैयाँमा २०७१ जेठ ३ गतेसम्ममा सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार प्रेम मल्लले विभिन्न मितिमा ७० प्रतिशत भौतिक प्रगति देखाएर ठेक्का सम्झौता रकमको ६० प्रतिशत अर्थात् ५ करोड ३८ लाख ९७ हजार भुक्तानी लिइसकेका छन् ।

ठेक्का सम्झौता भएको १० वर्षमा पनि निर्माण कार्य सम्पन्न नहुँदा सडकमा उडेको धुलोले स्थानीयबासीको कन्तबिजोग भएको छ । मिक्लाजुङ ९ मधुमल्लाका प्रभु राईले सडकमा उडेको धुलो गाउँभरि जडान गरिएका सोलार पातामा बसेर बत्तीसमेत बाल्न नसकेको गुनासो पोखे ।

‘सडकमा रातदिन लाम्बद्ध भएर चल्ने टिपरलगायत सवारी साधनले उडाएको धुलोले घरआगन धुलोले छोपिन्छ,’ उनले भने, ‘सडकमा उडेको धुलोले सोलार प्यानलमा बाक्लो धुलो जम्दा ब्याट्रीसमेत चार्ज हुँदैन । पानीले सफा गरेको एकैछिनमा सोलार प्यानलमा धुलो जम्ने गरेकोले समस्या भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित