मसानघाटको सार्वजनिक जग्गा अदालतको फैसलाले व्यक्तिको नाममा

बारा । बाराको मसानघाटको सार्वजनिक जग्गालाई अदालतले व्यक्तिको नाममा कायम गरिदिएको छ । फिल्डबुकमा प्रस्टसँग ‘ऐलानी मसानघाट’ भनेर जनिएको साबिक पिप्रा सिमरा गाविसको कित्ता नं ५९ को ६ बिगाहा ८ कट्ठा जग्गा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले व्यक्तिको नाममा कायम गरिदिएको हो ।

उच्च अदालत वीरगञ्जका न्यायाधीश साधुराम सापकोटा र सीताराम मण्डलको संयुक्त इजलासले निवेदकको रिटमाथि उत्प्रेषणको आदेश दिदै मसानघाटको जग्गा व्यक्तिको नाममा कायम गर्ने फैसला गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय बारा, जीतपुर सिमरा उपमहानगर र मालपोत कार्यालय सिमराको पहलमा २०७७ असोज २३ गते राज्यको नाममा फिर्ता ल्याउने निर्णय भएको सार्वजनिक जग्गा अदालतको फैसलासँगै फेरि व्यक्तिको नाममा भोगचलन कायम भएको छ ।

अदालतले प्राकृतिक न्यायको सिद्धान्तको हवाला दिँदै यसअघि मालपोत कार्यालय सिमराले गरेका सम्पूर्ण निर्णय बदर गरी ऐलानी मसानघाट भनी जनाइएको फिल्डबुक र स्रेस्तासमेत अध्यावधिक गर्न नापी कार्यालय सिमरालाई आदेश दिएको छ ।

अदालतको आदेशसँगै साबिक प्रिपा सिमरा गाविस (हाल जीतपुर सिमरा उपमहानगर वडा नं ४) मा रहेको पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँगै रहेको बहुमूल्य (चलनचल्तीमा झण्डै अर्ब मूल्यको) जग्गा व्यक्तिको नाममा कायम भएको छ ।

प्रोपर्टी म्यानेजमेन्ट प्रा.लिका सञ्चालक, जग्गा कारोबारी तथा होटल व्यवसायी ईच्छाबहादुर वाग्लेले मालपोतको निर्णय बदरको माग गर्दै उच्च अदालत वीरगञ्जमा रिट निवेदन दायर गरेका थिए । वाग्लेको रिटमाथि उच्च अदालत वीरगञ्जले सर्वोच्चमा पुनरावेदन समेत नलाग्नेगरी उत्प्रेषणको आदेशमा अन्तिम फैसला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित