साउन महिनामा यसकारण गरिन्छ शिवजिको आराधना

हिन्दू तिथि अनुसार आध्यात्मिक रूपले महत्वपूर्ण साउन महिना जताततै हरियालीले भरिने समय हो । साउन महिनालाई महिलाहरूले विशेष महत्वका साथमा लिन्छन् । हिन्दू धर्म मान्ने महिलाहरू मात्र नभएर सबै धर्म संस्कृतिका महिलाहरूले यो महिनालाई महत्वका साथ लिएको पाइन्छ । श्रावण मास भगवान् शिवको विशेष पूजाआजा गरिने महिना हो ।

महिलाहरू यो महिनाभरि व्रत लिने, शुद्ध आहार–विहार गर्ने तथा शिवजीको मन्दिर दर्शन गर्ने गर्छन् । आध्यात्मिक दृष्टिकोणले यो महिनाको विशेष महत्व हुने गर्दछ । साउन महिनामा आशुतोष भगवान् शंकरको भक्ति, आराधना एवं पूजाको विशेष महत्व छ । सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत बस्ने एवं शिवालयमा नांगै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जानेजस्ता क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने पनि धर्मग्रन्थमा बताइन्छ ।

श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतिसँगै नेपाली नारीहरूले हरिया चुरा, हरियो पोते, हरियै पहिरन एवं हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । शास्त्रीय आधार नभेटिए पनि यसलाई भिन्न–भिन्न व्यक्तिले बेग्लाबेग्लै ढंगले विश्लेषण गरेको पाइन्छ ।

हुन त श्रावण महिना त्यसै पनि हरियाली हुने महिना हो र यो महिना भगवान् शिवलाई प्रसन्न तुल्याउने उद्देश्यले हरियो बेलपत्र, भाङ, धतुरो एवं विभिन्न नैवेद्य तयार पारी पूजा–अर्चना गर्नुका साथै उनकै प्रतीक मानी हातमा हरियो चुरा र मेहन्दी सजाइन्छ । सोमबार भगवान् पशुपतिनाथ एवं शिवको प्रिय दिन भएकाले यो दिन व्रत बस्दा लौकिक र पारलौकिक फल प्राप्त हुन्छ भने ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि एवं अन्तरात्मा शुद्ध हुन्छ ।

व्रतबाट आफ्नो संस्कारको परिचय मिल्नुका साथै शरीर स्वस्थ एवं मन शान्त रहन्छ भन्ने धारणा छ । जिएनएन टिमले श्रावन महिनाको पावन अवसरमा श्री गोपाल गुरु जी संग बिशेष कुराकानी गर्दै यस मासको महत्व प्रष्ट्याउने प्रयत्न गरेको छ । गुरुजी बेलबारी, मोरङ स्थित यासुम्यामी मन्दिरमा अवस्थित रहनु भएको छ ।

हिन्दू तिथि अनुसार आध्यात्मिक रूपले साउन महिना नै किन महत्वपूर्ण हुन्छ ?
श्रावण एक पावन महिना हो। बर्षाको कारण यस महिनामा पहाड, पर्वत, खोलानाला, रुख, वृक्ष आदिबाट आएको पानि मूल अर्थात् जलमग्न भएर बसेको हुन्छ, जल पबित्र भएको हुन्छ, प्रकृति पुन्यसिल भएको हुन्छ, रुख वृक्ष पनि हराभरा भएको हुन्छ, पानि वृक्ष सबैमा उर्जा उत्त्पन्न भएको हुन्छ तसर्थ यस महिनामा भगवान शिवलाई जल मात्र चढाउनु पनि अतिनै पबित्र मानिन्छ र आध्यात्मिक रूपले साउन महिना नै महत्वपूर्ण मानिन्छ।

धार्मिक हिसाबले हेर्ने हो भने कोहि शिव भगवानलाई रातो फुल अर्पण गर्नु हुन्न भन्छन् भने कोहि रातो अक्षता अर्पण गर्न हुन्न भनछन् तर जल सबैले चढाएर पुण्य कमाउन सकिने गुरु गोपाल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ यस महिनामा भगवान शिवको पुजा आराधना गर्दा मानिसको जति पनि दोषहरु छन् त्यो समाप्त भएर जान्छ र पुण्य कमाउन सकिन्छ।

किन बसिन्छ साउन महिनामा मै बिशेष व्रत ?

श्रावण महिनामा भगवान शिवको पूजा गर्दै सोमबार व्रत बस्ने प्रचलन छ । भगवान शिवको अर्को नाम भीम अर्थात सोम पनि हो । शिवको साउन महिनामा घोर (डरलाग्दो) स्वरूप हुन्छ । पहिलो पटक व्रत बस्न सुरु गर्नका लागि पाँचवटा सोमबार हुँदा सुरु गरिनु शुभ हुने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायु तथा खुसी पाउने जनविश्वास रहिआएको छ । महिनालाई अझै भनौँ सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालेका छन् । साउन महिनामा व्रत बस्दा हरियो, पहेँलो र रातो रङ्गका बस्त्र, चुरा र मेहन्दी लगाउँदा भगवान शिवजी खुसी भई मनोकामना पूरा गरिदिने र श्रीमानको आयु लामो हुने विश्वास छ । कतिपय महिला तथा पुरुषहरू साउन महिनाभरि माम्स आहार नगरी बस्छन् । व्रत बस्ने महिलाहरू महिनाभरि चोखो खाने कुरा खाएर बस्छन् । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेँलो चुरा र मेहन्दी लगाउँछन् ।

यस बिषयमा श्री गोपाल गुरु जी भन्नुहुन्छ “श्रावण महिनामा सोमबार व्रत बस्ने, हरियो रङ्गका बस्त्र, चुरा र मेहन्दी लगाउने एक परम्परा नै हो यसले ठुलो धार्मिक महत्व बोकेको छ जस्तै हामी दशैंको समायमा रातो रंगको बस्त्र टिका प्रयोग गर्छौ त्यस्तै श्रावणमा हरियोको गर्छौ। यसलाई सौभाग्यको प्रतीकको रुपमा पनि लिन सकिन्छ’।

श्रावण महिनामा माछा मासु सेवन नगर्नुको धार्मिक कारण के छ ?
श्रावण महिना धार्मिक महिना हो । त्यसैले श्रावण महिनालाई वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । यो नियम सदियौँदेखि चल्दै आएको छ । यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । अरुको हत्या हिंसा गर्ने मानिसको मन स्थित हुन्न भनिन्छ । त्यसैपनि साउन जस्तो पवित्र र धर्मकर्मको महिनामा माम्साहार सेवन वर्जित नै छ ।

श्री गोपाल गुरुजीका अनुसार व्रत बस्दा शुद्ध हुनु जरुरि छ। श्रावण महिनामा माछा मासु सेवन नगर्ने प्रचलन पहिलैदेखि नै चलिआएको परम्परा हो। यस महिनामा भगवान शिव जलमा प्रसन्न भएर फुल अक्षता सबै त्यागेर बसेका हुन्छन् र मानिसले पनि यस महिना भगवानका लागि माछा मासु त्याग्न सक्नुपर्ने श्री गोपाल गुरुजी बताउनुहुन्छ।

धार्मिक क्षेत्रमा महिलाको लगाव बढी ?
बिशेषत पुरुषको तुलनामा धार्मिक क्षेत्रमा महिलाहरुको लगाव बढी देख्न सकिन्छ। पुजापाठ, ब्रत सबैमा महिलाको स्वमिकत्व धेरै छ। पुरुषहरुलाई भने धर्मकर्ममा कमै लगाव भएको देख्न सकिन्छ। यस बिषयमा श्री गोपाल गुरुजी भन्नुहुन्छ “अहिले धार्मिक क्षेत्रमा महिलाको स्वमिकत्व केहि धेरै देखिएपनि प्राचिन समय देखि पुरुषको धार्मिक क्षेत्रमा बढी संलग्नता रहीआएको छ। प्राचिन समयमा महिलाहरुलाई धर्मकर्मबाट वर्जित गरिन्थ्यो। आहिले पनि त्यो यदाकदा बाकी नै छ तर आहिलेको समयमा नारीहरुले आफ्नो अधिकार पाएका छन् । पुरुषको हकमा उनीहरु ब्यबहारिकतामा लागेका छन् तसर्थ धार्मिक क्षेत्रमा महिलाको लगाव बढी देखिएको छ”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित