श्रम मन्त्रालयले दियो कतार विश्वकपमा कामदार लैजान अनुमति

श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा शुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ। प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो।

सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ। काम नै छोटो अवधिका लागि भएकाले कामदारलाई श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजिव पोख्रेलले जानकारी दिए।

फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको यसअघि कतारस्थित नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए। आफूलाई जानकारी आएपछि दूतावासले पत्र लेखेको थियो। मन्त्रालयले गरेको यो निर्णय अब फेरि कतारमा रहेको नेपाली दूतावासलाई पठाइनेछ। यो निर्णयसँगै दूतावासबाट छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेर कामदार पठाउन पाइनेछ।

विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीलाई अनुमति दिनेछ। मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ।

त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा थोरै समयको हुनेछ। म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा छोटो समयको रोजगारीका लागि जानेले भिसा ल्याएर श्रम स्वीकृति लिन आए स्वीकृति दिने मन्त्रालयले जनाएको छ।

कानुनअनुसार श्रम स्वीकृतिको अवधि २ वर्षको हुने भए पनि त्योभन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति दिने कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिए।

नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित नभइ सकेको उनले बताए। कामदारको लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाबारे जानकारी पाइनेछ।

तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन्। विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिकको माग गरेको छ। वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीले छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित