पोखरेलीले तिरेको गायब १३ करोड करमध्ये १० करोड भयो दाखिला, ३ करोड रुपैयाँ अझै गायब

पोखरा महानगरमा सर्वसाधारणले तिरेको करबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ। उक्त रकम खोजबिन गर्न महानगरले चार्टर्ड एकाउन्टेन्टसम्बन्धी संस्थालाई आह्वान गरे पनि ३ वटा कम्पनीले काम छाडेर गएको सूचना अधिकारी भरतराज पौडेलले बताए।

‘महानगरको राजश्व कसरी र कहाँ गायब हुन पुग्यो भनेर छानबिन गर्न चार्टर्ड एकाउन्टेन्टलाई जिम्मा लगाएका थियौं, तीन वटा कम्पनी छानबिन नै नगरी छोड्यो,’ उनले भने, ‘अहिले अर्को चार्टर्ड एकाउन्टेन्टलाई छानबिनको जिम्मा दिने तयारीमा छौं।’

महानगरको आम्दानी खातामा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७६ करोड ५३ लाख १८ हजार रुपैयाँ सर्वसाधारणको करबाट जम्मा भएको थियो। जबकी सोही अवधिमा महानगरको राजश्व शाखाले भने १ अर्ब ८४ करोड ३१ लाख ९६ हजार आम्दानी भएको देखाएको छ।

बैंक खातामा जम्मा भएको राजश्व र महानगरको राजश्व शाखाले बाँधेको आम्दानीमा ३ करोड ७० लाख ७१ हजार हराएपछि महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको छ। प्रतिवेदनमा गायब भएको रकमको यथार्थ विवरण पेश गर्न भनेको छ।

महालेखा परिक्षकको अघिल्लो प्रतिवेदनमा पोखरा महानगरबाट सर्वसाधारणले तिरेको करबाट १३ करोड गायब भएको औंल्याएको थियो। त्यतिबेला महानगरले हिसाब मिलान गर्न बाँकी रहेको भन्दै पन्छिएको थियो।

गायब भएको उक्त रकममा १० करोड रुपैयाँ सम्बन्धित व्यक्तिले दाखिला गरेको र बाँकी रकमका रूपमा अहिले ३ करोड ७० लाख देखिएको जनाएको छ।

महानगरका कर्मचारी, केही करदाता कम्पनीको मिलेमतोमा राजश्व गायब भएको महानगरकै एक अधिकृतले बताए। राजश्वमा आम्दानी बाँधेर बैंकमा दाखिला नगरेका कारण उक्त रकम हराएको हुन सक्ने ती अधिकृतको भनाइ छ। महानगरले छानबिन गर्न जिम्मा लगाएका चार्टर्ड एकाउन्टेन्टलाई पनि उनीहरूकै मिलेमतोमा भगाउने गरेको उनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित