प्रसिद्ध धार्मिकस्थल देवघाटमा भक्तजनको भीड

साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाट धाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो ।

साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् ।

साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार साउनका पाँच सोमबार गरेर एक लाख ५० हजारभन्दा बढी भक्तजन देवघाट आउने अनुमान गरिएको छ ।

देवघाट आउने भक्तजनका लागि ट्राफिक प्रहरी कार्यालयले रुट निर्धारण गरेको छ । कोरोना कहरका कारण अघिल्लो वर्ष औपचारिक रुपमा मेला आयोजना गरिएको थिएन ।

देवघाट क्षेत्र विकास समितिले दुई वर्षपछि बोलबम मेला आयोजना गरेको हो । घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौँ भक्तजन देवघाट आउने गर्दछन् । साउनमा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित