आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन। माता तीर्थ औँसी ।
शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।
आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ।
एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान्।
नेपोलियन बाेनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु। नेपोलियनले असल पिता किन मागेनन् ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जाे आमाभन्दा असल हाेस् ।
आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ।
कसैको सफलतामा काेही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् ।
आमा पहिलो औषधि हुन्। अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो। सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पाेल्छ ती आमा नै हुन् ।





















Discussion about this post