‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भिडिओ भाइरल, के हो वास्तविकता ?

बुटवलको एक चर्चमा ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। विवेक सत्यालको नामबाट सार्वजनिक भएको भिडिओमा चर्चका पास्चरले मृत व्यक्तिलाई जीवित गराएको दाबी गरेका छन्।

उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरी प्रशासनले अनुसन्धान सुरु गरेको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीका अनुसार अनुसन्धान सुरु गर्न बुटवल प्रहरीलाई आदेश भइसकेको छ।

‘मैले हिजो साँझ थाह पाएँ,’ एसपी रेग्मीले भने, ‘अनुसन्धान सुरु गर्न बुटवल प्रहरीलाई आदेश गरेको छु,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने बताए।

‘साइन्सलाई नै चुनौति दिने कुरा गर्न पाइएन नि, एकातिर धामी झाँक्री बोक्सी लाई विश्वास नगरौं भनेर भन्छौं अर्कोतिर यस्तो अप्रमाणित कुरा देखाउने यो त भएन।’ पाण्डेले भने।

सो भिडिओको बारेमा सुक्ष्म अध्ययन गर्नका लागि आफूले प्रहरी प्रशासनलाई भनेको उनले जानकारी दिए। ‘त्यो भिडिओको बारेमा जिल्ला प्रहरी कार्यालयलाई सुक्ष्म रुपमा अनुसन्धान गर्न भनेको छु। उहाँहरुले अनुसन्धान गर्दै हुनुहुन्छ।’ उनले भने।

भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ। गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ।

भिडिओमा एक महिलाले ‘‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित