पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्दै हुम्लाको लिमी

हुम्ला। कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ ।

पछिल्लो समयमा लिमी उपत्यका मानसरोवरको दर्शन गर्न जाने नेपालको एकमात्र भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि एक सय पाँच किलोमिटरको दूरीमा पर्छ ।

सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ । लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै बढ्न थालेका छन् ।

कसरी पुग्ने लिमी लाप्चा ?
हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ तर दुई दिनका लागि आफूसँग टेन्ट, खानेकुरालगायत सामान हुनुपर्छ ।

दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजै लाप्चाबाट मानसरोवर जान सकिने नाम्खाका छेपाल लामाले बताए । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।

उनले भने, ‘हामीमा सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो ।’ नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।

कैलाश दर्शनको धार्मिक विश्वास
धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीमा विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ । पर्यटकीय आकर्षक गन्तव्य रहेको मानसरोवरमा तीर्थयात्रीहरु वर्षैभरीे यात्राका लागि निस्किने गर्छन् तर त्यहाँ जाने सहज याम भने असारदेखि भदौसम्म हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित