भारतमा देखिएको ‘टम्याटो फ्लू’ के हो?

‘टम्याटो फ्लू’ नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन। मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो।

जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो। फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका १०० भन्दा बढी केसहरू भेटिए।

केरला बाहेक, अहिलेसम्म ओडिशा, तमिलनाडु र हरियाणा जस्ता राज्यहरूमा टम्याटो फ्लूका बिरामी भेटिएका छन्।

केरलापछि सभभन्दा धेरै यस रोगबाट ओडिसामा संक्रमित भएका छन्। त्यहाँ कुल २६ बालबालिकामा यो फ्लू पुष्टि भएको छ। यी सबै बालबालिका १ देखि ९ वर्ष उमेर समूहका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्यमा ‘टम्याटो फ्लू’ सम्बन्धी सुझाव जारी गरेको छ। यसमा रोग, यसका लक्षण र रोकथामका बारेमा जानकारी दिइएको छ ।

भारतको सरकारी मेडिकल कलेज, तिरुवनन्तपुरमका सामुदायिक चिकित्साका एसोसिएट प्रोफेसर डा अनिश टीएले सो फ्लु लागेपछि शरीरका विभिन्न भागमा टमाटरजस्तो रातो रङका फोकाहरू निस्कन थाल्ने बताए।

सुरुमा यी फोका साना हुने तर बिस्तारै बढ्न थाल्ने र साना रातो टमाटरजस्ता देखिने उनको भनाइ छ। यही कारणले गर्दा केरलाका केही स्थानीयले यस रोगको नाम ‘तक्काली पनी’ दिएका छन् । ‘तक्काली पनी’ मलयाली शब्द हो। जसको अर्थ अंग्रेजीमा ‘टम्याटो फ्लू’ हुन्छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसलाई हात, खुट्टा र मुखको बिरामी (एचएफएमडी)भनेको छ। यो कुनै नयाँ रोग भने होइन। यो एचएफएमडी हात खुट्टा र मुखमा लाग्ने बिमारी हो। साधारणतया यो बिमारी बच्चाहरुलाई धेरै लाग्छ।

यो रोगबाट भारतमा अहिलेसम्म मत्यु भने भएको छैन। यसको लक्षण अरु भाइरल जस्तै हुन्छ। सुरुमा हल्का जरो आउँछ। भोक नलाग्ने, थकाइ लाग्ने र घाँटीमा खसखस हुने हुन्छ। त्यस्तै जरो आएको दुई तीन दिनपछि मुख हात खुट्टा घाँटी हत्केला आदीमा राता फोका आउँछन्। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित