७० लाखसहित पक्राउ परेका ६० जुवाडेहरू ‘हिरासत’मा नपुग्दै छुटे

धरान। मोरङको सुन्दर हरैचा नगरपालिका-१ स्थित जनक मास्केको संगुर फर्ममा जुवा खेलिरहेका ६० जनाभन्दा बढी जुवाडेलाई प्रहरीले कारबाही नगरी छाडेको छ। बुधबार बेलुका लाखौं रुपैयाँसहित पक्राउ परेका जुवाडेलाई बिना कारबाही छोडिएपछि इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षकमाथि प्रश्न उठाइएको छ।

बुधबार ३ बजेदेखि मास्केको संगुर फर्ममा जुवाडेहरुले कौडा खेल्न सुरु गरेका थिए। जुवा खेलिरहेका बेला प्रहरी ६ बजेर २० मिनेटमा जुवा खालामा पुगेको थियो। प्रहरी पुग्दा जुवा खालमा करिब ७० लाखभन्दा बढी रकम बोकेका जुवाडेहरु थिए।

६ वटा कार र ३० भन्दा बढी मोटरसाइकल लिएर जुवाडेहरु मास्केको सुंगुर फर्ममा पुगेका थिए। जुवा खालमा ४ जना प्रहरी पुगेपछि ‘पैसाको बार्गेनिङ’ भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरी पुग्ना साथ जुवा खेलिरहेका कुमार केसी र जनक मास्के र सुजितकुमार माझीले प्रहरीलाई मोटो रकम दिने भएपछि जुवाडेलाई प्रक्राउ नगरी छाडिएको स्रोतको भनाइ छ।

जुवा खेल्न उर्लावारीबाट अर्जुनकुमार तुम्रोकसहित १० जना, विर्तामोडका मोहन उप्रेती, अशोक बराल, डिके चाम्लिङ, विराटनगरबाट कुमार केसीलगायत १२ जना, मोरङ तेतरियाबाट सुजितकुमार माझी, सुन्दरहरैचाका जनक मास्के, सुनसरी बजु गाउँपालिकाका देवनारायाण चौधरीसहित ७ जना, दमकका कर्ण राईलगायतका ६ जना गरी ६० भन्दा बढी जुवाडेहरुले जुवा खेलिरहेका थिए।

अर्जुनकुमार तुम्रोकको मंगलबारेसिथ्त घर, मास्केको सुन्दर हरैचास्थित संगुर फर्म र तेतरियाको सुजितकुमार माझीको घरमा प्रहरीकै संरक्षणमा जुवा खेलाउने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। बुधबार मास्केको फर्ममा जुवा खेलिरहेको भिडियो प्रहरीले सुरुमा खिचेको थियो।

पछि जुवाडेहरुले मोटो रकम दिएपश्चात् प्रहरीले जुवाडेहरुलाई बिना कारबाही छाडेको थियो। जुवा खेलिरहेको भिडियो अन्नपूर्णलाई समाचार स्रोतले उपलब्ध गराएको छ।

इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जुवा खालबाट ९० हजार रपैयाँ नगद र एउटा कौडा बरामत गरिएको बताए। उनले प्रहरी जुवाखालमा पुग्ना साथ सबै जुवाडे भागेकाले पक्राउ गर्न नसकिएको बताए। मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले यस विषयमा छानविन गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित