पोखराका मेयर धनराजका १०० दिनको काम: हजारौँको संख्यामा फलफूलका बिरुवाहरू रोपण

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गरेको शनिबार १०० दिन पुगेको छ । आफ्नो कार्यकालबारे उनले शनिबार पत्रकार सम्मेलन गरेर ‘१०० दिनका १०० काम’ सार्वजनिक गरे ।

जसमा पदबहाली गर्नुपूर्व सडकको डिभाइडरमा रोपिएको फूललाई समेत उपलब्धि मानिएको छ । काममा वृक्षरोपणदेखि किसानलाई कार्ड वितरणसम्म समेटिएको छ ।

तर, राष्ट्रिय गौरवकै आयोजनालाई प्रभाव पार्ने ल्यान्डफिल साइटका बारेमा मेयर आचार्यले १०० दिनसम्म कागजी खाका पनि कोर्न सकेनन् । फोहोरमैला व्यवस्थापनका लागि महानगरको टोलीले धरानदेखि दिल्लीसम्मको भ्रमण गरेको विषयलाई प्राथमिकताका साथ उपलब्धिमा राखिएको छ ।

तर, उडान मिति तय भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटकै कारण ढिलाइ हुन लागेको स्थिति ओझेलमा पार्न खोजिएको छ ।ल्यान्डफिल साइट व्यवस्थापनका बारेमा उनले १०० दिनमा गरेको प्रयास पनि उपलब्धिमा उल्लेख छैन ।

ल्यान्डफिल साइट व्यवस्थापन भइसकेता पनि ६ महिनासम्म चराको आवागमन सोही क्षेत्रमा भइरहने र यसले विमानस्थल प्रभावित हुने विज्ञहरुले बताइरहेका छन् । आउँदो अंग्रेजी नयाँ वर्षबाट उडान सुरु गर्ने भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति पनि घोषणा गरिसकेको छ । तर, ल्यान्डफिल साइट नै अहिलेसम्म मुख्य चुनौती देखिएको छ ।

उनले पेस गरेका उपलब्धिमा महानगरले नियमित प्रदान गर्ने कृषि तथा फलफूलका बिरुवा वितरण, जनप्रतिनिधि तथा महानगरका महाशाखा प्रमुखलाई नेतृत्व विकास तालिम, वृक्षरोपण, विभिन्न क्लब, तथा संघ–संस्थाले आयोजना गर्ने फुटबल प्रतियोगितादेखि अरू सांस्कृतिक कार्यक्रमलाई आर्थिक सहायता दिएको विषय समेटिएको छ ।

शासकीय सुधारमा मेयर आचार्यले महानगरमा एकद्वार प्रणालीबाट सेवाग्राहीले सेवा पाउने व्यवस्था गरेका छन् । ६३ रोपनी जग्गाको अनधिकृत भाडा सम्झौता खारेज गरेका छन् । पोखरा बसपार्कको स्तरोन्नति गर्दै बसपार्कमा ग्राभेल बिछ्याइएको छ । सुकुमबासीलाई वडागत रूपमा निस्सा बाँडिदै छ ।

महानगरले पोखराका विभिन्न भवनमा पार्किङका लागि बनाइएको ‘अन्डरग्राउन्ड’ व्यवसाय हटाउन सूचना जारी गरेको छ । पोखराका बजार क्षेत्रमा निजी घर तथा व्यावसायिक भवनका ३२ स्थानका ७३ शौचालय सर्वसाधारणका लागि खुला गर्न सफल भएको आचार्यको जिकिर छ ।

जनगुनासो सुनुवाइका लागि ‘हेल्लो मेयर’ कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको संख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत/उपचार सहयोग तथा सिफारिसलगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।

विभिन्न दातृनिकाय तथा विदेशका भगिनीसम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डीपीआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित