सुरक्षागार्डले हामीलाई ‘मिसबिहेब’ गर्यो, जुनसुकै देशमा पनि भीभीआईपीलाई सुविधा हुन्छ- मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टमा बायोमेट्रिक दिन शुक्रबार बिहान ९ बजे पुगेका बेला त्यहाँको सुरक्षागार्डले आफूहरुलाई दुर्व्यवहार गरेको बताएका छन्।

यो प्रकरणमा संलग्न भनिएका छाया सेन्टरस्थित भीएसएफको सुरक्षामा तैनाथ गार्ड शेरजंग गुरुङले आफूहरुलाई धकेलेको मन्त्री श्रेष्ठले दाबी गरेका हुन्।
‘म त्यहाँ क्यानाडाको भिसाका लागि श्रीमतीसहित बायोमेट्रिक गर्न पुगेको थिएँ। नौ बजे त्यहाँ खास मान्छे पनि थिएनन्।’

उनले भने, ‘हामी त्यहाँ लाइनमै बस्दा पनि गार्डले धकेल्यो। हाम्रो अगाडि दुईजना लाइनमा थिए, म र श्रीमती पछाडि थियौँ। हाम्रो पालो आइसकेको थियो तर त्यो गार्ड आएर हामीलाई मन्त्री सन्त्री मतलब छैन भन्दै धकेल्यो।’

‘अगाडि दुईजना लाइनमा थिए, उनीहरु भित्र छिरिसकेका थिए। त्यसपछि मेरो र मिसेसको पालो थियो। तर अचानक गार्डले आएर ठेल्यो’, उनले भने, ‘मेरो अंगरक्षकले उहाँ मन्त्रत्री हुनुहुन्छ भनेको थियो। तर उसले मन्त्री सन्त्री मलाई मतलव छैन भन्यो। म पनि भूतपूर्व आर्मी हो भन्दै हाम्रो सेक्युरिटी गार्डलाई उसको परिचयपत्र झिक्दै घोच्यो।’

आफूले मन्त्री भएको परिचय दिँदा पनि आफू भूपू आर्मी भन्दै गुरुङले दुर्व्यहार गरेको बताए। ‘उसले आई नो भन्दै धकेल्यो। उसको त्यसखालको दुर्व्यवहार भएपछि हाम्रा सुरक्षाकर्मी रिपोर्ट गरिदिएका हुन्। अनि पक्राउ परेको हो। शुक्रबारै उसलाई पक्राउ गरेको हो।’

श्रेष्ठले आफू मन्त्री हुँ भन्दा भन्दै पनि दुर्व्यवहार गरेपछि पक्राउ गरेको बताए। ‘भीएसएफले समय दिइसकेपछि गएको हुँ म। लाइनमै गएको छु प्रक्रियाअनुसार गरेको हो’, उनले भने, ‘तर प्रधानमन्त्री पनि लाइन लागेर जाने हो र बायो मेट्रिकको लागि? जुनसुकै देशमा भीभीआईपीलाई पनि सुविधा हुन्छ। तर त्यहाँ किन त्यो सुविधा राखिएन?’

उनले आफूलाई दुर्व्यवहार भएको घटनाको गलत तरिकाबाट बाहिर ल्याइएको बताए। ‘सुरक्षागार्डले मन्त्रीलाई लाइन बस् भन्दा पक्राउ परेको होइन’, उनले भने, ‘उसले मेरो टोली र अंगरक्षकलाई पनि मिस बिहेब गरेकाले पक्राउ गरिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित