काठमाडाैँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्।शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन्।
नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताए। २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए।
उनले भने, ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने। अरू कसले गर्न सक्ला त? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन? स्थापना गरेको दललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि।
पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छाैँ भनेर गर्न सकिन्छ र? कांग्रेस र कम्युनिष्टजस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी गर्न सक्छन्? आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरूले काम गरेर देखाउन सक्ला? राम्रो मान्छेलाई मौका दिनुपर्छ।’
नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए। जनताको बहुमत पाउँदासमेत कम्युनिष्ट पार्टीहरूले संघीयताका कानुन नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाए।
उनले भने, ‘स्थानीय सरकारलाई दिनुपर्ने, प्रादेशिक सरकारलाई दिनुपर्ने अधिकारहरू, कानुनहरू नबनाइदिएको कारणले प्रश्न चिन्ह खडा भएको छ। संघीयता नेपालको लागि फलिफाप हो भन्छ।
बहुमत दिँदा पनि कम्युनिष्टहरूले काम गर्न नसक्दा यस्तो अवस्था आएको हो। कानुनहरू नबनाइदिँदा यो अवस्था आयो। ट्र्याकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएका छौँ अहिले गठबन्धन बनाएर। हामी देशको विकास गर्न अब तयार छौँ।’
नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए। उनले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।





















Discussion about this post