दार्चुलामा बाढीपहिरोको विध्वंस : पाँचजनाको मृ’त्यु, १० बेपत्ता

धनगढी । दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठजना घाइते भएका छन् । लास्कु खोलामा आएको बाढीमा परेर दुई र पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो । लास्कुको बाढीले बगाएर महाकाली नगरपालिका–१ की मानमती कार्की र महाकाली–२ का नन्दराम बोहराको मृत्यु भएको छ ।

यस्तै, नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर पुरिँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लास्कुमा आएको बाढीमा परेर महाकाली–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली–३, का धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् ।

यस्तै, महाकाली–२ की मानमती शाहू, महाकाली–१ की मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी महाकाली–२ का हर्क शाहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोले दार्चुलामा ४२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । नौ घरमा आंशिक क्षति भएको छ । बाढीपहिरोका कारण सो क्षेत्रका ४० घर उच्च जोखिममा रहेका छन् ।

बाढीका कारण महाकाली–२ स्थित माइकेश्वरी आधारभूत विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । महाकाली–४ स्थित दशरथ आधारभूत विद्यालयको भवनमा आंशिक क्षति पुगेको छ ।

छपारी जाने झोलुंगे पुल र लास्कु खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ जीप, एक कार, एक ट्याक्टर, एक जेसीबी गरी नौ सवारीसाधन बगेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित