भैंसीलाई २५ सय सुत्केरी भत्ता!

रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का वशन्त मल्लले पालेको ६ मध्ये एउटा भैंसीले साउन २२ गते पाडी पायो। साउन २३ गते वडा कार्यालय पुगेर मल्लले भैसी, पाडी र सालनालसहितको फोटो लगेर भत्ताको लागि निवेदन दिए।

भदौ २४ गते पशु सेवा शाखा कार्यालयबाट दुई जना कर्मचारी मल्लको घरमा स्थलगत अनुगमनका लागि आए। मल्ले दिएको निवेदन अनुसार उनले पालेका ६ मध्ये एउटा भैंसी ब्याएको र पाडी पाएको ठहर भएपछि पशु सेवा शाखा कार्यालयका कर्मचारीले नगद दुई हजार पाँच सय रूपैंया दिए।

मल्लले त्यो रकमबाट एक मुरी पाँच पाथी जौं शनिबार मात्रै भैंसीलाई दाना खुवाउनका लागि खरिद गरेर ल्याए। ‘भैंसी ब्याएपछि सुत्केरी स्याहार र प्रोत्साहनका लागि थोरै भए पनि भत्ता पाउँदा साह्रै खुसी लागेको छ,’ मल्लले भने, ‘हामी जस्ता किसानको कर्मलाई पनि राज्यले सम्मान गर्नु आफैंमा एउटा गतिलो उदाहरण मान्न सकिन्छ।’

लामो समय विदेश बसेका उनले घर फर्किएपछि यहीँ केही गरौं भन्ने सोचले भैंसी पालन व्यवसाय सुरू गरेको बताए। मल्लको भैंसी गाभिनो भएको थाहा पाएर पशु शाखाका कर्मचारीले उनलाई गाउँपालिकाको कार्यक्रमबारे जानकारी गराएका थिए। त्यहीँ सूचनाका आधारमा उनले वडा कार्यालय पुगेर निवेदन दिएका थिए।

स्थानीय सरकारले पनि भैंसीमा अनुदान कार्यक्रम ल्याए त्यसले थप उत्साह थपिने उनी बताउँछन्। ‘मैले यहाँ लोकल जातका भैंसी पालेको छु,’ उनले भने, ‘यी भैंसीले ४ माना जति दूध दिन्छन्। भैंसी किन्दा आधाउधी अनुदान पाए पनि उन्नत जातका भैंसी किन्न सहज हुने थियो।’

मल्ल जस्ता २० जना किसानले भैंसी ब्याएपछि जनही दुई हजार पाँच सयका दरले भत्ता पाइसकेको छन् । गाउँपालिकाले भैंसी ब्याएपछि किसानलाई सुत्केरी भत्ता दिन थालेपछि किसान खुसी छन्।

गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले दूग्ध उत्पादन किसानलाई उत्प्रेरणा थप्न तथा प्रोप्साहन गर्न गत साउनदेखि ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागू गरिएको सेतोपाटीलाई जानकारी दिए। ‘हाम्रो उद्धेश्य वास्तविक दूग्ध उत्पादन किसानको पहिचान गरि उहाँहरूलाई प्रोत्साहन गर्नु हो,’ उनले भने, ‘सिस्ने गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउनु र किसानको कर्ममा हातेमालो गर्नु हाम्रो मुख्य उद्धेश्य हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित