कमलबजार नगरपालिका–६ अछामकी धना बिक पहिलो पटक आमा बन्नेवाला थिइन्। ६ महिनाको गर्भ थियो। २१ वर्षीया उनले रमेशसँग दुई वर्ष पहिले प्रेम विवाह गरेकी थिइन्। रमेश ३ महिना अगाडि रोजगारका लागि भारत गएका थिए।
परिवारमा विस्तारै खुसी थपिँदै थियो। सुखका दिन कुर्दै थिए उनीहरू। तर, शुक्रबार राति आएको पहिरोले सुखका दिन मात्रै खोसेन, पेटमा हुर्कँदै गरेको बच्चालाई संसार देख्न दिएन। धनासहित गर्भमा रहेको बच्चा, सासू मैनकला, देवर ईश्वर र नन्द सिर्जनालाई पहिरोले पुर्यो।
तीन दिनदेखि परिरहेको वर्षाका कारण घर माथिबाट माटोको ढिस्कोसँगै झरेको पहिरोले उनीहरूको घर पुरेको वडाध्यक्ष लालबहादुर शाही बताउँछन्। ‘अघिल्लो दिन भोलि श्राद्ध छ भन्दै सामग्री जुटाउँदै थिए।
तर, उनीहरू बिउँझन नपाई परलोक भए,’ उनले भने। छोराबाहेक परिवारका सबै सदस्यको निधन भएको वडाध्यक्ष शाहीले जानकारी दिए। सँगै बस्ने काकाको केही परिवार घाइते छन्।
गर्भवती धनाको पेटमा रहेको बच्चाको पोष्टमाटर्म गरी निकालिएको र आइतबार सातै जनाको अन्त्येष्टि गरिएको स्थानीय गणेश शाहीले जानकारी दिए। उनले भने, ‘गर्भमा छोरी रहेछिन्, पोष्टमार्टम गरेर निकालिएको थियो। मृतक धनाका श्रीमान् भारतबाट आउँदैछन्।’ सोही घरमा इन्द्र सिं बिकका परिवार पनि बस्थे। इन्द्र रमेशका काका हुन्।
पहिरोका कारण घाइते भएका उनी उपचारपछि घर फर्किएका छन्। इन्द्रकी ३ छोरी २३ वर्षीया सञ्जिता, १९ वर्षीया सरिता र १४ वर्षीया गीताको पहिरोमा परी मृत्यु भयो।
इन्द्र रुँदै भने, ‘हामी दुई भाइको परिवार एउटै घरमा बस्थ्यौं, मैनकला भाइबुहारी हुन्। पहिरोले केही पनि राखेन। सर्वस्व लिएर गयो। अब कसरी बाँच्ने। बिचल्ली हुने भयो।’





















Discussion about this post