‘संविधान रक्षाका लागि कुनै कसर बाँकी राखिनँ, तटस्थ भूमिका निर्वाह गरेँ’- अग्निप्रसाद सापकोटा

नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ। दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पाँच वर्षे कार्यकाल पूरा गरेको छ।

सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ। बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएका छन्।

यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ। ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ।

प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश।

संसदको नेतृत्वका आधारमा यहाँले यो संसद्को कार्यकाल र भूमिकालाई कसरी लिनुहुन्छ ?
यो कार्यकाल धेरै उतारचढावपूर्ण रह्यो। समस्या र चुनौतीहरु खडा भए। तर ती चुनौती र समस्यालाई सामना पनि भयो। समग्रमा यो कार्यकाल चुनौती र समस्याका बाबजुद सफल भयो भन्ने लाग्छ। प्रतिकूल परिस्थितिका बीचबाट पनि संसद्ले आफ्नो काम कारबाही अगाडि बढायो। विश्वव्यापी रुपमा देखापरेको कोरोना महामारी, राजनीतिक सङ्कट र जलवायु परिवर्तनको सङ्कटलाई झेल्दै प्रतिनिधिसभाले आफ्ना काममा महत्वपूर्ण सफलता हासिल गरेको छ।

संसद् बैठक अन्त्यपछि यहाँले भविष्यका लागि वर्तमान प्रतिनिधिसभाले दिएको सन्देश स्मरणीय रहनेछ भन्नुभयो। यहाँले के भन्न खोज्नुभएको हो ?
थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो। दुई/दुई पटक प्रतिनिधिसभा विघटन र पुनःस्थापना भयो। यस अर्थमा संविधान र व्यवस्थाको रक्षा भएको छ। हामीले नियमित प्रक्रियाबाट सबै विषय अगाडि बढाएका छौँ। निर्वाचनको घोषणा भएको छ। समस्या र चुनौती आए पनि समाधान गर्न सकिन्छ भन्ने कुरा पछिल्लो ११ औँ अधिवेशनमा मिलेको सफलताले पुष्टि गर्छ।

के आधारमा सफलता मिल्यो भन्न सकिन्छ ?
पछिल्लो अधिवेशन बजेट अधिवेशन हो। सो अधिवेशनमा महत्वपूर्ण विधेयक पारित गर्न त सफलता हासिल गर्‍यौं। बजेट अधिवेशन भएर पनि ३० वटा विधेयकमाथि घनिभूत रुपमा छलफल भएर पास हुनु भनेको यो धेरै महत्वपूर्ण उपलब्धि हो। यस्तै सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउने भनेका थियो। साच्चै यो पछिल्लो चरणमा जीवन्त र जनमुखी पनि भयो। सार्वजनिक महत्वका प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव तथा बैठक स्थगनसम्मका प्रस्तावमा पनि हामीले छलफल चलायौँ। कतिपय राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सभामुखको तर्फबाट रुलिङ भयो। सम्बन्धित मन्त्रीले जवाफ दिने काम भयो। समग्रमा यो कार्यकाल गौरवपूर्ण नै रह्यो भन्न सकिन्छ।

विपक्षी दलले यहाँमाथि विभिन्न आरोप लगाउने काम भयो। यहाँमाथि किन प्रश्न उठ्यो ?
यी आरोप निराधार छन्। मैले शपथ लिएपछि आफ्नो भूमिका निष्पक्ष, स्वतन्त्र र तटस्थ हुनुपर्छ भन्ने सङ्कल्प लिएँ। सभामुखको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तटस्थ, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने विषयलाई गहिरो गरी आत्मसात् गरेँ। दोस्रो पटक प्रतिनिधिसभा विघटन हुँदा मैले जवाफ पठाउने क्रममा संसद् पुनःस्थापना हुनुपर्छ भन्ने एजेण्डा मेरो हो।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित देशभर प्रदर्शन भइरहँदा मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ निरन्तर भूमिका खेल्दै आएँ। संवैधानिक परिषद्सम्बन्धी विषयमा म आफैँ सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर संविधान मिचिएका विषयमा मुद्दा दायर गरेँ।

संविधान रक्षाका लागि कुनै पनि कसर बाँकी राखिन। यस अर्थमा मैले स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेको छु। मलाई जुन आरोप लगाउन कोशिस गरियो ती आरोप निराधार थिए भन्ने कुरा पछिल्ला दिनमा शानदार ढङ्गले पुष्टि भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित