पृथ्वी राजमार्गको मुग्लिनसम्मै जम्मा दुई लेनको सडक, बडेमानका सयौँ गाडी, सडक छेउभरि सहर विस्तार हुँदैछ । यात्रा कष्टकर । मुग्लिनबाट नारायणगढसम्म सरकारले बाटो विस्तार त गरेको छ तर पुल विस्तार भएका छैनन् । ठाउँ–ठाउँमा पहिरो झरेर सडक साँघुरो । कहाँ कति बेला सडक बन्द हुने हो पत्तो छैन ।
बल्ल–तल्ल नारायणगढ पुगेको मान्छे त्यहाँबाट पश्चिम लाग्यो भने अब सुरु हुन्छ उसको झनै कष्टपूर्ण यात्रा । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल एक सय १४ किलोमिटर सडक यति खराब कि तपाईँले कल्पनै गर्न सक्नुहुन्न ।
नारायणगढको नारायणी पुल तरेर पश्चिमतर्फ लाग्नेबित्तिकै कष्टकर यात्रा सुरु हुन्छ । सरकारले विस्तार गर्न भनेर २०७५ सालदेखि भत्काउन थालेको यो सडक अहिलेसम्म भत्काएको मात्रै छ, बनाएको छैन । राष्ट्रिय राजमार्गमा कतै कतै त सानातिना गाडी नै हराउने भ्वाङ छन् । मिटरैपिच्छेका खाल्डाले साना/ठूला सबै गाडीलाई गुड्न मुस्किल पर्छ ।
पानी पर्दा होस् या घाम लाग्दा सडकमा उस्तै गाह्रो । पानी पर्दा राजमार्गभर हजारौँ सानातिना पोखरी देखिन्छन् । कतै कतै साना देखिने खाल्डामा गुरुजीले गाडी गुडाउने रहेछन् तर देख्दा साना देखिने खाल्डामा त आधा गाडी नै फस्ने । तपाईँले नारायणगढ–बुटवल सडकको यात्रा गर्नुभएको छ भने पक्कै पनि सडकभरि बिग्रिएका गाडी देख्नुभएको होला । हरेक किलोमिटरको यात्रा गर्दा सडक किनारमा बिग्रिएका गाडी देखिन्छ । यात्राको क्रममा सरकारलाई नसराप्ने त कमै हुन्छन् होला !
दाउन्नेको उकालोमा र बुटवल पुग्ने बेलामा थोरै ठाउँमा सडकमा कालोपत्र देखिन्छ नत्र एक सय १४ किलोमिटर लामो बाटोमा कालोपत्र देख्नै मुस्किल । कालोपत्र भत्किएको बाटोमा पनि ग्राबेल राखेर खाल्डाखुल्डी पुर्न त सकिन्थ्यो होला तर सरकारले त्यता ध्यानै दिएको छैन ।
दशैँ लागिसक्यो । अब त त्यति लामो सडक खण्डमा सरकारले चाहेर पनि राम्राेसँग मर्मत गर्ने समय छैन । यसको अर्थ दशैँमा आउजाउ गर्ने यात्रुले नारायणगढ–बुटवल सडकमा अहिलेकै जस्तो कष्टकर यात्रा गर्नैपर्छ । यात्रा सुरु गर्नुको विकल्प छैन । व्यवसायीले सुविधाजनक र अत्याधुनिक बस किनेका छन् तर सडकको अवस्था भने कुरा गरिनसक्नुको छ ।
मन्त्री र सडक विभागका हाकिमले एक पटक नारायणगढ–बुटवल सडकको यात्रा गर्ने हो भने पक्कै पनि मर्मत र विस्तारको काम चाँडो सक्न ताकेता लगाउँथे होला । तर मन्त्री र हाकिमहरू सकभर हेलिकप्टरमै, नत्र हवाईजहाजको यात्रा गर्छन् । उनीहरूलाई सडकको बिजोगले किन पोल्थ्यो र !
चार लेनको बनाउने भनेर २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो सडकको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने बेलामा बल्ल १८ प्रतिशतमात्रै सकिएको छ । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले दुवै खण्डको निर्माणको ठेक्का हात पारेको थियो । निर्माण कम्पनीले ठेक्का पाएदेखि नै सडक विस्तारको काममा ढिलासुस्ती गर्दै आयो, सरकारले काम चाँडो गराउन कुनै पहल गरेन ।
२०७६ सालदेखि अहिलेसम्म नागरिकले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । ठेकेदारको लापर्बाहीले गाडी र सर्वसाधारणले यात्रा गर्दा असहज, प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्ने अवस्था आएको छ । सडकको अवस्था बिग्रिएका कारण सडक वरिपरिका बासिन्दालाई असुविधा, स्थानीयवासीको स्वास्थ्य समस्या, सडक प्रयोगकर्ताको दुर्घटना र सार्वजनिक सुरक्षामा समेत चुनौती थपिएको छ ।
सरकारले ठेकेदारलाई चाँडो कम सक्न दबाब दिनुको साटो एक वर्षका लागि म्याद थप गरेको छ । अहिले आएर बल्ल सरकारले काममा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । सडक विभागको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो ।
नारायणगढ–बुटवल सडकको पूर्व खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ । दुवै खण्ड भत्काएर छाडिएको छ । १७ अर्ब रुपैयाँ लागतमा विस्तार हुँदै गरेको सडक यसरी अलपत्र परेको छ कि मानौँ देशमा सरकार नै छैन अनि सरकारका अङ्ग र निकाय मृत छन् ।
अरू सडकको पनि अवस्था उस्तै
काठमाण्डौबाट मुग्लिन, नारायणगढ हुँदै बुटवलसम्मको मात्रै होइन देशका अरू सडकको हालत पनि उस्तै खराब छ । पाइला पाइलामा नागरिकले सरकारलाई सराप्छन् । मेरै यात्राको कुरा गर्ने हो भने भालुवाङ–प्युठान, गुल्मीको तम्घासबाट पाल्पा, पाल्पाबाट पोखरा आउने क्रममा स्याङ्जा खण्डको सडक उस्तै । ग्रामीण सडकमा त भगवान् भरोसामै यात्रा गर्नुपर्छ ।
पोखरा–मुग्लिन सडक पनि विस्तार हुँदैछ । ठाउँ–ठाउँमा सडक भत्काएर छाडिएको छ । नेपालीलाई त आफ्नो देशको अवस्था यस्तै हो भन्ने थाहा छ । तर सडक यात्रा गरिरहेका विदेशी पर्यटकको दुःख र उनीहरूका अनुहारमा देखिने निराशाले जुनसुककैको मन कटक्क खान्छ । यस्ता खत्तम सडकमा यात्रा गराएर हामीले देशको कस्तो चिनारी दिइरहेका छौँ सरकार ?
समाचारमा सुनेअनुसार पूर्व–पश्चिम राजमार्गको ढल्केबरबाट पूर्वको सडक पनि बिग्रेकै अवस्थामा छ । पाँच दशकअघि बनेको सडक विस्तार भएको छैन । यस्तै त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डको अवस्था पनि भनिसाध्ये छैन ।
बेसीसहर–चामे, साँफेबगर–मार्तडी, बेनी–जोमसोम, गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडकका विभिन्न भागमा पहिरो खसिरहेकाले बढी समस्या छ । तपाईँले पनि एक पटक यी सडकको यात्रा गर्नुभयो भने पक्कै सोच्नुहुनेछ र सोध्नुहुनेछ, ‘यो देशमा सरकार छ ?’ तस्बिर : सामाजिक सञ्जाल





















Discussion about this post