खोला एकातिर, पुल अर्कोतिर

रौतहटको दुर्गा भगवती गाउँपालिकाको पिपरा बजार र सर्लाहीको रामनगर गाउँपालिकाको खैर्वाको बीचमा बागमती नदी अविरल बगिरहेको छ। बागमती नदीलाई सुख्खा याममा तर्न सर्वसाधारणले बाँसको अस्थायी पुल बनाउँछन्।

वर्षायाममा भने डुंगामा डरमर्दो यात्रा गर्नुपर्छ। पिपरा र खैर्वाको बीचमा पुल बन्न थालेको पाँच वर्ष नाघिसक्यो। पुल बन्न सुरु हुँदा स्थानीयमा निकै उत्साह थियो। पुलको काम करिब ९० प्रतिशत सकिइसकेको छ तर स्थानीयमा अलिकति पनि उत्साह छैन। पुलको काम सम्पन्न हुन लाग्दा खोला एकातिर र पुल अर्कोतिर भइसकेको छ।

अहिले जहाा पानी बगेको छ त्यहाँ पुल छैन र जहाँ पुल बनेको छ त्यहाँ खोला छैन। खोला एकातिर र पुल अर्कोतिर भएको देखेर स्थानीयबासीमा हुनसम्म निराशा देखिएको छ। दुर्गा भगवती गाउँपालिका ३ का बुद्धिजीवी श्यामनारायण झा भन्छन्, ‘पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।’ खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछन्।

सर्लाहीको रामनगर गाउँपालिकाको खैर्वाका बलि सहनीले पहिले खोला भएको ठाउँलाई छाडेर बागमती नदी आधा किलोमिटर पश्चिमतर्फ सरिसकेको बताउँछन्। २०७२/०७३ मा ठेक्का सकार गरी तीन पटक म्याद थप गरेर २०८० असार मसान्तसम्म पूर्ण रुपमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ निर्माणाधीन पुलको करिब ९० प्रतिशत काम सकिइसकेको छ।

पुलका साइट इञ्जिनियर अजय साहले करिब ८५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको वर्तमान अवस्था खोला एकातिर र पुल अर्कोतिर भइसकेको बताएका छन्। समयमै काम सकिएको भए यस्तो अवस्था आउने थिएन तर पुल निर्माणमा संलग्न निर्माण कम्पनीहरुले ढिलो गर्दै जाँदा खोलो पश्चिमतर्फ फर्किएको साह बताउँछन्।

पुल निर्माणको अन्तिम अवस्थामा आएर पुललाई छाडी बागमती नदीको मूल धार अर्कोतिर बगेपछि गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहले लेखापढी गरी सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताएका छन्। आउँदा हिउँदमा पुल निर्माण सम्पन्न भए पनि कुनै काम नलाग्ने अवस्था आउन लागेको बताउँदै गापा अध्यक्ष सिंह भन्छन्, ‘पुल निर्माण सकिँदा पनि कुनै कामै नलाग्ने पुल हेरेर स्थानीयबासी पानीमा डुब्नुपर्ने हुन्छ।’

पुल निर्माणमा कम्तीमा तीन वर्ष खेर जाँदा खोलाले अर्को बाटो रोज्ने मौका पाएको स्थानीयको भनाइ छ। हरेक वर्ष नदी किनारको कटान तथा पानीको बहावले धार परिवर्तन भइरहन्छ। पुलको निर्माण समयमै भएको भए पुलको दुवैतिरको लिंक सडक र तटबन्ध निर्माण भइसकेको हुन्थ्यो तर अहिलेसम्म पुलकै निर्माण नहुँदा साइडको काम सुरु हुन सकेको छैन।

१४ स्पानमध्ये ११ स्पानको काम भइसकेको छ। तुन्डी रसुवा पप्पु जेभी कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुलको काम सकिँदा सरकारले फेरि थप काम गर्नुपर्ने हुन्छ। करिब दुई किलोमिटर तार जाली लगाएर खोलो फर्काउनु पर्ने आवश्यकता रहेको सरकारले समयमै काम गर्नको लागि आफूहरुले सम्बन्धित निकायहरुलाई जानकारी गराइसकेको गापा अध्यक्ष सिंह भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित