सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम बाँडियो भन्ने सरकारले गोप्य राखेको छ।
सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मात्रै मन्त्रिपरिषद्ले नै नयाँ मापदण्ड जारी गरेको थियो ।
तर, मापदण्ड जारी भएको ३ महिना बित्न नपाउँदै एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई मन्त्रिपरिषद्बाट निर्णय गराएर २० लाख रुपैयाँ निकासा गरिएको हो। उक्त रकम खनाललाई छिट्टै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
त्यस्तै पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको थियो। उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने,’ मुख्यसचिव बैरागीको हस्ताक्षयुक्त निर्णयमा भनिएको थियो।
नेता खनालको उपचार खर्च बेहोर्ने उक्त निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत रहेको भन्दै विरोध भइरहेको छ। जनस्वास्थ्य ऐनको दफा ३० ले कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराए सरकारी कोषबाट खर्च उपलब्ध गराउन नमिल्ने व्यवस्था गरेको छ। तर, सोही व्यवस्थालाई मिच्दै सरकारले खनालको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो।
ऐनको दफा ३० मा भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराउनुपर्ने भएमा सोका लागि सरकारी कोषबाट खर्च उपलब्ध गराउन मिल्दैन।’
कोरोना भाइरसको संक्रमण देखिएपछि नेता खनालले केही समय नर्भिक अस्पतालमा उपचार गराएका थिए। कोरोनाको संक्रमणपछि स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि खनाललाई असार २ गते भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो।
यसअघि गत वर्ष पनि पूर्वप्रधानमन्त्री खनाल सरकारी अनुदान लिएर सर्प पालन सुरु गरेको भन्दै विवादमा तानिएका थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘सर्प पालन बहुवर्षीय परियोजना’ स्वीकृत भई ७० करोड रुपैयाँ पाउने निश्चित भएको समाचार बाहिर आएको थियो।
गृह मन्त्रालयका अनुसार राहत तथा उपचार खर्चबापत बर्सेनि सरकारी ढुकुटीबाट मन्त्रिपरिषद्ले नेता र आसेपासेलाई करोडौं रुपैयाँ बाँड्दै आएको छ । यो लेखमा प्रस्तुत गरिएका विचार लेखकको निजि हुन् ।





















Discussion about this post