सगरमाथामा हिउँ पग्लिन थालेपछि पुरिएका शव देखिँदै, बाटोबाट हटाउन आरोहीको माग

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा शव देख्दा मन चसक्क हुने बताउनुहुन्छ । जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको शव देख्दा मनमा डर पैदा हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ ‘शव देख्दा मेरो पनि अवस्था यस्तै भयो भने मेरो छोराछोरी तथा मेरो परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउँछ ।’ मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला शव देख्दा मन बहकिने उहाँको अनुभव छ ।

झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका शेर्पा पछिल्ला वर्षमा हिउँ पग्लिए सँगै शव देखिन थालेको बताउनुहुन्छ । कतै सग्लै शव त कतै टुक्रिएका अङ्ग अनि कतै अस्थिपञ्जर देखिन्छ ।

अघिल्ला वर्षहरुमा शव नदेखेको ठाउँमा पनि अर्काे वर्ष पुरानो शव देखिने गरेको उहाँको भनाइ छ । अर्का आरोही नरबहादुर अस्थानी मगर पनि सगरमाथा आरोहण गर्दा धेरै शव देखेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘कतै सग्लै शव देखिन्छ, कतै छुटिएको अङ्ग मात्र पनि देखिन्छ, बाटो आसपासमै शव देखिन्छ ।’ सबैभन्दा कम उमेरमा १४ वटै अग्ला हिमालको आरोहण गर्नुभएका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा पनि आरोहणका क्रममा थुप्रै शव देखिने गरेको बताउनुहुन्छ ।

कहिलेकाहीँ त शवलाई नाघ्दै हिँड्नुपर्ने अवस्था पनि आउने उहाँ बताउनुहुन्छ । सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन् ।

ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको बताइन्छ । बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् ।

चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भएपनि नेपालतर्फ शव हिउँमै छन् । अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरु बताउँछन् ।

यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै शव रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैन वा ल्याइएको छैन । जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जोखिमको कुरा भएको आरोहीहरु बताउँछन् ।

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही शवको उद्धार भएको छ । तर अझै धेरै शव हिमालमै छन् । सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित