दुवई आफैंमा एउटा पूर्ण देश होइन, यो संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त अर्थात प्रदेश हो, हाम्रो नेपालको कर्णाली, गण्डकी या त अन्य नामाकरण नभईसकेका प्रदेशहरुजस्तै ।

तर, पर्याप्त जानकारी अभावमा तथा सजिलोको भाषामा हामी र हाम्रा नेपालीहरु युएईको जुनसुकै कुनामा भएता पनि आफू दुवईमै छु भन्ने गरेको पाईन्छ, झनै नेपालमा रहेका आफन्तले त सजिलो र सहज दुवई मुखैमा झुण्डिएको हुन्छ ।

नामाकरण नभईसकेका भर्खरै जन्मिएका प्रदेशजस्तै युएईमा पनि ७ वटा जवान प्रदेशहरु छन् । अनि यूरोपजस्तै शैलीमा विकास भइरहेको भनेर सुनेको भरमा दुवई आउने तीव्र ईच्छा हुनेहरु र युएईको बारेमा पूर्ण जानकार नहुँदा म्यानपावर कम्पनीहरुले बिभिन्न झूठा प्रलोभन देखाएर फ्रि भिषा फ्रि टिकटको नाममा मोटो रकम लिने र

अन्य फस्टाएका दलालहरुले दुवईमा पुगेको एक हप्तामा काममा लगाउँछु भन्दै धेरै नेपालीलाई यहाँ ल्याएर बिचल्ली पार्ने गरेका घटना बढ्दै गएका छन् । यहीकारण हामी आज दुबई आउन चाहनेको हितलाई ध्यानमा राखी यहाँ काम पाईने प्रक्रियाबारे बुझ्न सहजीकरणको प्रयास गर्दैछौ ।

कसरी पुग्ने यूएई ?
वैदेशिक रोजगारीका लागि आउने मुख्य माध्यम भनेको रितपूर्वक दर्ता भई मानव संसाधनको काम गरिरहेका म्यानपावर कम्पनीहरु पहिलो प्राथमिकतामा पर्छन् ।
![]()
प्रक्रियागत हिसावमा बुझ्ने हो भने म्यानपावर कम्पनीको युएईमा रहेका कम्पनीसँगको सम्पर्कपछि कम्पनीले आफूलाई आवश्यक परेको जनशक्ति विवरण र त्यो जनशक्तिलाई दिने तलव सुविधाको साथमा कामको प्रकृतिसहितको डिमाण्ड नेपालस्थित म्यानपावरलाई उपलब्ध गराउँछ ।

नेपाल सरकारको पछिल्लो नियम अनुसार धेरै कम्पनीले कामदारलाई दुःख दिने प्रकृतिका घटना बढेपछि कम्पनीले पठाउने डिमाण्डलेटर सोही देशमा रहेको नेपाली नियोगबाट प्रमाणिकरण गरेर मात्र नेपालस्थित मेनपावर कम्पनीमा पठाउनुपर्ने हुन्छ । त्यसो भयो भने नेपाली नियोगले त्यो कम्पनीको ब्याकग्राउण्ड चेक गर्ने तथा कम्पनीको काम र सतहको बारेमा बुझ्ने मौका पाउँछ ।

सम्बन्धित कम्पनीबाट डिमाण्ड पाईसकेपछि म्यानपावरले श्रम बिभागबाट पूर्व स्वीकृति लिएर अन्तर्वार्ता र कामदार छनौट प्रक्रिया अगाडि बढाउँछन् । सम्बन्धित काममा दक्ष कामदारले म्यानपावर कम्पनीमा डिमाण्ड लेटर आइसकेपछि कम्पनीकै प्रतिनिधिबाट नेपालमा हुने अन्तर्वार्तामा सामेल भएर युएई आउने प्रक्रियाको थालनी गर्छन ।
धेरै जसो सिपको कामको लागि कम्पनीका प्रतिनिधिले सिप परिक्षण र अन्य योग्यताको समेत जाँच गर्छन र दक्षताको आधारमा छनौट गर्छन । तर, कतिपय ननस्कील जागिरका लागि भने बायोडाटा र शैक्षिक योग्यताको प्रमाणपत्रका भरमा पनि बिनाअन्तर्वार्ता भिषा उपलब्ध हुनसक्छ ।
त्यस्तो काममा जस्तै फ्याक्ट्रि वर्कर, हेल्पर, लेवर, क्लिनिङ्ग वर्कर जस्ता कामहरु हुन्छन् । तर चलेका अन्तराष्ट्रिय ख्याति पाएका कम्पनीहरुले आफ्ना कामदार उत्कृष्ट हुन् भन्ने चाहाना राख्छन् र धेरै कम्पनीले फेस टु फेस अन्तर्वार्तामा सफलता हासिल गर्नेलाई मात्र छनौट गर्छन ।
अन्तर्वार्तामा सफल भइसकेपछि स्वास्थ्य परिक्षण, चारित्रिक शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजात बुझाउनुपर्छ र युएईको कम्पनीले ती प्रमाणपत्रको जाँच गरी भिषाको आवेदन प्रक्रिया अगाडि बढाउँछ ।
म्यानपावर कम्पनीबाट प्रक्रिया अगाडि बढाउने कामदारको सम्पूर्ण काम त्यहीँबाट गरिने हुँदा भिषा जारी भइसकेपछि आधिकारिक तालिमकेन्द्रबाट अभिमुखीकरण तालिम बाहेक कामदारले अन्य कुनै पनि काम गर्नुपर्दैन । म्यानपावरले नै तपाईको बिमा, श्रम स्वीकृति, टिकट सम्बन्धी काम गरिदिन्छ ।
सम्झौता विपरीत काम तथा तलव सुविधा नपाएमा रितपूर्वक आएका कामदारले सम्बन्धित बैदेशिक रोजगार बिभागमा रिट निवेदन दिए क्षतिपूर्ति समेत पाउने भएकाले कामदारले सम्पूर्ण कागजपत्रहरु सुरक्षित राख्नुपर्छ।





















Discussion about this post