अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ ।
मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्डाको प्रयोगलाई झनै महत्त्वपूर्ण मानिन्छ । तर अन्डा मानव जीवनका लागि जति आवश्यक र महत्त्वपूर्ण छ, यसको सही र वैज्ञानिक प्रयोग गर्न नसके त्यत्तिकै हानिकारक र घातक पनि छ ।
बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, बिरामीलाई अन्डा खुवाइन्छ । तर हामीले खाने अन्डाको गुणस्तर कस्तो छ भन्ने बारेमा चासो दिएका छैनौँ । हामीले खाने अन्डा कुन मितिमा उत्पादन भएको हो र कहिलेसम्म खान मिल्छ भन्ने कुराको जानकारी अन्डा उत्पादक वा वितरकले पनि जानकारी दिने गरेका छैनन् ।
जब तरकारी बिग्रन्छ, मासु बिग्रन्छ, चामल र पीठो बिग्रन्छ भने अन्डा पनि अवश्य नै बिग्रन्छ । कुनै पनि सामानको उत्पादन मिति, उपभोग्य मिति र शुल्क तोकिएको हुन्छ । तर हामीले आम बजारमा पाउने अन्डामा यसबारे कुनै कुरा उल्लेख गरिएको हुँदैन ।
हामी सामान्य पसलमा जाँदा पनि त्यहाँ क्रेटमाथि क्रेट राखेर अन्डाको बिक्री गर्न राखिएको हुन्छ । तर उचित तापक्रम (कुल चेन मेन्टेन)मा नराखिएको अन्डा र मिति गुज्रिएका अन्डाले फाइदाभन्दा बढी बेफाइदा गर्न सक्छ ।
अहिले बजारमा पाइने सबैजसो अन्डामा उत्पादन मिति र उपभोग्य मिति राखिएको हुँदैन । जसको कारण उपभोक्ताले कहिलेसम्म अन्डा खाइसक्नुपर्ने हो भन्ने कुराको जानकारी नै पाएका हुँदैनन् ।
त्यति मात्रै होइन, अन्डाको ग्रेडिङ गरी मूल्य तोक्नुपर्ने विषय र सही तापक्रममा अन्डा राख्नुपर्ने विषयबारे पनि जानकारी छैन । यस कारण हामीले सबै अन्डालाई एउटै मूल्य तिर्नुपर्ने अवस्था छ भने हामीले खाइरहेको अन्डा स्वस्थ छ कि छैन भनेर जान्ने अवस्था पनि छैन ।
अन्डाको उपभोगबारे के भन्छ विश्व स्वास्थ्य सङ्गठन र एफडीए ?
विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘अन्डालाई उत्पादन भएको मितिले २१ दिनभित्र खाइसक्नुपर्छ ।’ अनि २१ दिनभित्र खाने अन्डालाई पनि कम्तीमा ४ देखि बढीमा १८ डिग्री सेन्टिग्रेड तापक्रममा बाकसभित्र फ्रिजमा राख्नुपर्छ ।
त्यस्तै मानव स्वास्थ्यमा काम गर्ने अर्को सम्मानित संस्था एफडीएले पनि अन्डालाई १० देखि १३ डिग्री सेल्सियस तापक्रममा राखेर उत्पादन मितिले अधिकतम २८ दिनमा खाइसक्नुपर्ने भनेको छ ।
तर अहिले बजारमा पाइने अन्डा न उचित तापक्रममा राखिएको छ न अन्डा प्रयोग गर्ने मितिको बारेमा नै उल्लेख भएको हुन्छ । पशु स्वास्थ्यमा काम गर्ने एक सरकारी डाक्टरका अनुसार नेपालमा प्रयोग गरिने अधिकांश अन्डा मापदण्डविपरीत अर्थात प्रयोग गर्न अनुपयुक्त छन् ।
मापदण्डविपरीतका अन्डा खाँदा अन्डाबाट लाग्ने विभिन्न रोग मानिसमा सर्न सक्ने उनको भनाइ छ । अन्डामा यी २५ थरीका एसपीएफ नभएका अन्डा मात्रै खान योग्य हुन्छन् । यी २५ वटा सूक्ष्मजीवबाट मुक्त भएको अन्डा मात्रै खानका लागि योग्य हुने नेपाल सरकारको अन्डा ढुवानी तथा भण्डारण मापदण्डमा उल्लेख छ ।





















Discussion about this post