सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आज बुधवारदेखि थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहसको पहिलो दिन आज काठमाण्डाै जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउनुभयो ।

जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उहाँकाे दाबी छ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको उहाँले बताउनुभयो ।

सापकाेटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताउनुभयो । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘काठमाण्डाै जिल्ला अदालतसमक्ष हामीले दुई वटा विषयवस्तु जोडदाररूपमा उठायौँ । जबरजस्ती करणी भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ ।

पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने ? जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने ? किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो ।

नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’ आजदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित