बच्चालाई के भनेर सम्बोधन गर्ने ?

मदन घिमिरे फेसबुकमा केही न केही लेखिराख्नु मेरो बानीजस्तै भएको थियो। कविता, मुक्तक वा कुनै विषयमा आफ्ना विचार पोस्ट गर्न मन लाग्ने भएकाले म यसमा अलि बढी नै आशक्त भएको थिएँ। आफ्नो काम म आफैंलाई पनि त्यति ठिक लागिरहेको थिएन।

सामाजिक सञ्जालमा बिताउने समय घटाउन पनि मैले आफ्नो यो खालको आशक्तिलाई घटाउनु नै थियो, जसका लागि मैले विस्तारै आफूलाई अन्तै व्यस्त बनाउन थालें।

त्यही व्यस्तताले गर्दा सामाजिक सञ्जालमा त्यति धेरै समय व्यतित गर्न नपाएको थुप्रै भैसकेको थियो। तर यसो भनिराख्दा सामाजिक सञ्जाल हेर्दै नहेरेको दिन चाहिं मेरो पनि सायदै थिएन होला। यहाँ आउने सबै कुरामा सबैको ध्यान त पक्कै जाँदैन तर कुनै कुनै कुराले चाहिं अलि बढी सोच्न बाध्य बनाउने रहेछन्।

सधैंझैं एक दिन बिहानै फेसबुक स्क्रोल गर्दैथिएँ। ‘साना बालबालिकाका बाबा–आमाले सुनौँ’ भन्ने वाक्य जोडेको एउटा भिडियोको अंश भेटें। कुनै राष्ट्रिय टेलिभिजनको अन्तर्वार्ताको सानो अंश थियो सायद। बालबालिका केन्द्रित कार्यक्रम होला त्यो।

त्यहाँ कोही अतिथि हुनुहुन्थ्यो, जो भन्दै हुनुहुन्थ्यो- ‘हामीले साना साना बालबालिकालाई उच्च आदरका शब्दले सम्बोधन गरिरहँदा उनीहरुको मगजमा एउटा छुट्टै छाप परेको छ, जसले गर्दा बच्चाले मध्यम आदर र निम्न आदरको शब्द कसैले प्रयोग गर्दा आफूलाई हेपिएको ठान्छ र भोलि समाजमा घुलमिल हुन नसक्ने परिवेशको सृजना हुनसक्छ; जो नितान्त गलत छ। हाम्रा बाआमाले हामीलाई तँ नै भन्नुहुन्थ्यो त खै आज हामीले सबैलाई तँ भन्दै हिंड्या त छैनौँ। …’ यस्तै यस्तै धेरै कुरा थिए त्यहाँ।

अरु धेरै कुरा सामान्य लागे पनि यो कुराले चाहिं एकछिन राम्रैसँग मथिङ्गल हल्लाएको थियो मेरो। हुन त बच्चालाई के भनेर सम्बोधन गर्ने भन्ने विषयले मलाई सोच्न बाध्य बनाएको यो पहिलोपटक चाहिं होइन। तर पनि उक्त भिडियोको अंशले व्यक्त गरेको ‘साना बालबालिकालाई घरमा निम्न आदर र मध्यम आदरको बानी पारिदिनुपर्छ अर्थात् तिनीहरुलाई त्यही शब्दले सम्बोधन गर्नु राम्रो हुन्छ’ भन्ने आशयमा न आफू सहमत हुनसकें न यसलाई खण्डन गर्न नै।

म पेशाले शिक्षक। मैले मेरा विद्यार्थीलाई उच्च आदर प्रयोग गरेर तपाईं भन्ने गरेको छु। मलाई यसो गर्दा बालबालिकासँगको दूरी कम भएको आभास हुन्छ। त्यसैले पनि म बालबालिकालाई उच्च आदर भन्दा निम्न वा मध्यम आदर प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा सहमत हुन सक्दिनँ।

म कक्षा शिक्षक भएको कक्षाका दुई विद्यार्थीको झगडा परेछ। उनीहरु आफैं मिल्न नसकेपछि मकहाँ आइपुगे। कारण बुझ्न खोज्दा एउटा पक्षले ‘मलाई मेरो बाबा-आमाले त तँ भन्नुहुन्न; उसले तँ भन्यो’ भन्ने जवाफ दियो।

त्यस्तै अलि अगाडि म कक्षा शिक्षक भएको कक्षाका दुई विद्यार्थीको झगडा परेछ। उनीहरु आफैं मिल्न नसकेपछि मकहाँ आइपुगे। कारण बुझ्न खोज्दा एउटा पक्षले ‘मलाई मेरो बाबा-आमाले त तँ भन्नुहुन्न; उसले तँ भन्यो’ भन्ने जवाफ दियो। त्यसदिन झस्किएको म आज फेरि उक्त भिडियोको अंशले झस्किएको थिएँ।

लामो समय आफैंसँग तर्क–वितर्क गरेपछि बच्चालाई निम्न आदरका शब्दले सम्बोधन गर्नुभन्दा उच्च आदर प्रयोग गर्नु नै उपयुक्त हो भन्ने कुरामा मैले आफूलाई दृढ बनाएको छु।

विशेषत: हामी समतामूलक समाजको परिकल्पना गर्छौं। यसका विषयमा ठूल्ठूला बहस चलाउँछौं। जात, धर्म, वर्ग, लिङ्ग, सम्प्रदाय वा अरु कुनै आधारमा कोही कसैलाई विभेद गर्नुहुन्न भन्ने विषयमा चर्को चर्को नारा लगाउँछौं तर आफूभन्दा ठूलो उमेरको मान्छेलाई तपाईं र सानो उमेरको मान्छेलाई तँ वा तिमी भनिरहँदा उमेरको आधारमा सदियौंदेखि हुँदै आएको विभेदलाई प्रश्रय दिइरहेका हुन्छौं भन्ने कुराको हेक्का समेत राख्दैनौं।

सार्वजनिक रुपमै बच्चालाई कसैले उसलाई ‘तँ’ भनेर पनि सम्बोधन गर्न सक्छ भनेर घरमै सिकाएर पठाइदिनुपर्ने तर्क दिन्छौं र त्यही तर्कलाई वाह् वाही पनि गर्छौं। हुन त ‘तँ’, ‘तिमी’ वा ‘तपाईं’ आदरवाची शब्द मात्र हुन्।

उच्च आदर ठूलोलाई र निम्न वा मध्यम आदर सानोलाई गर्नुपर्छ भनेर आदिमकालमा कसैले पिटिदिएको झ्यालीका पछाडि दौडिइरहेका हामी आर्थिक रुपले सम्पन्नहरुले गरिबलाई गर्ने सम्बोधन, हाकिमले आफ्ना मातहतका कामदारलाई गर्ने सम्बोधन, मालिकले नोकरलाई गर्ने सम्बोधनमा चाहिं विभेद देख्यौं र आफूलाई क्रान्तिकारी कहलायौं तर उमेरले जेठो भएकै कारण साना बालबालिकालाई चाहिं तँ वा तिमी नै सम्बोधन गर्नुपर्छ भनेर वकालत गर्नचाहिं छोडेनौं।

वास्तवमै हामीले भावी पुस्ताको समुज्ज्वल भविष्य र साँच्चै समतामूलक समाज चाहने हो भने हरेक मानिसले सबैलाई समान व्यवहार गर्ने संस्कारको विकास कसरी गर्न सकिन्छ भनेर बहस चलाउनुपर्ने देखिन्छ। बच्चालाई घरमा तपाईं सम्बोधन गरिदिंदा बाहिर कसैले ‘तँ’ भनिदियो भने सहन सक्दैन। त्यसैले घरबाटै ‘तँ’ पनि सिकाएर पठाउनुपर्छ भनेर तर्क गर्नुभन्दा एउटा बच्चा घरबाट निस्केर समाजमा आउँदा पनि उसले कसरी समान व्यवहार महसुस गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित