धनी उम्मेदवारका गरिब मतदाता, भन्छन्- चौधरीका बाचा धेरै, हाम्रो आशा थोरै

पाँच-पाँच पटक सांसद र मन्त्री बनिसकेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीविरुद्ध यस पटक अर्बपति विनोद चौधरी निर्वाचनको मैदानमा उत्रिएका छन्।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चौधरीले त्रिपाठीलाई कडा चुनौती दिने निश्चित छ। आफ्नो पुरानो बिरासत कायमै राख्न त्रिपाठीले धनाढ्य चौधरीको सामना गरिरहँदा यस क्षेत्रका मतदाता भने अहिले चौधरीको नाराबाट रनभुल्लमा परेका छन्।

चौधरीले आफूले जितेको खण्डमा आफ्नो क्षेत्रमा कायापलट गर्ने भन्दै आक्रमक प्रचारप्रसार गरेका छन्। हरेक समस्या ३० दिनभित्र समाधान गर्ने उद्घोष चौधरीको छ। उनको यस्तो आक्रमक प्रचारप्रसारबारे यस क्षेत्रका ‘गरिब’ मतदाता चाहिँ के भन्छन् त?

किरणदेवी गुप्ता (प्रतापपुर गाउँपालिका-९)
विनोद चौधरीले ३० दिनभित्र विद्यालय र सडक बनाउने बाचा गरेका छन्। यहाँ हामीलाई नागरिकताको समस्या छ। उहाँले नागरिकता पनि दिलाइदिने आश्वासन दिनुभएको छ। उनले बाचा त गरेका छन् तर हामीलाई आशा चाहिँ कम छ।

यो भन्दा अघि त्रिपाठीजीले यस्तै बाचा गर्नुभएको थियो। तर जितेर गएपछि सबै भुल्नुभयो। बाचा पूरा गर्ने न नगर्ने कुरा त उहाँमाथि नै निर्भर हो। तर उहाँले बडो विश्वासका साथ दिइएका आश्वासनहरु पूरा गर्ने बाचा गर्नुभएको छ।

हामीहरुको सबैभन्दा प्रमुख समस्या नागरिकताकै हो। साथै यहाँ सडकदेखि विद्यालयको पढाइ र पूर्वाधारमा समस्या छ। यी सबै कुरा चौधरीले जितेको ३० दिन भित्रै पूरा गरिदिन्छु भन्नुभएको छ।

रामलखन केवट (त्रिभुवन नमुना मावि बेलाटारीका सुरक्षागार्ड)
हावा त यो पालि नयाँ अनुहारतिर चलेको छ। पटकपटक जिताउँदा र मन्त्री बनाउँदा पनि केही भएन भन्ने गुनासो ब्यापक छ। त्यो भएर यो पालि नयाँ अनुहार रोजाइमा देखिन्छन्।

विनोद चौधरीले चाहे भने त गरेका बाचा पूरा गर्न कुनै गाह्रो छैन। रोजगारी दिने भनेर फेरि नवलपरासीमै जग्गा किनेको भन्ने पनि सुनेका छौं। चाहे भने उनलाई विकास गर्न राज्यको सहयोग नै चाहिँदैन। आठ पटकसम्म त कसैले केही नगर्दा भयो भने यो पटक नयाँलाई किन नहेर्ने भन्ने कुरा हाम्रो टोलमा पनि चलेको छ।

देवनारायण चौधरी
जसले जिते पनि ‘हरहवा’का सन्तानलाई केही नहुने रैछ। सबैले भन्छन्- समस्या हल गर्दिन्छु। तर जितेर गएपछि हामी जस्ताको त्यस्तै। विनोद चौधरीको आज आमसभा छ, जानुपर्छ भन्थे म गइनँ। श्रीमती गएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित