किन घुम्न जाने डडेलधुरा ?

डडेलधुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा धार्मिक र पर्यटकीय दुष्टिकोणले महत्वपूर्ण मानिन्छ । जिल्लाको प्रसिद्ध उग्रतारा मन्दिरका साथै घटालथान, डोटेली राजाको ऐतिहासिक दरबार जस्ता प्रसिद्ध सम्पदाले जिल्लाको पहिचानलाई बलियो बनाएका छन् ।

ऐतिहासिक अमरगढी किल्ला डडेलधुराको पहिचान हो । अमरसिंह थापाले निर्माण गरेको यस किल्लाको नेपालको इतिहासमा खास महत्व रहेको छ । कुमाउ गढवालसँगको युद्धमा अमरसिंह किल्लाको खास योगदान छ ।

डोटेली राज्यको ग्रीष्मकालीन राजधानी अजयमेरुकोट हुँदै पवित्र महाभारत क्षेत्रले त डडेल्धुराको महत्व अझै बढाएको छ । कुनै समय विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध उग्रतारा मन्दिर होस् या महाकाली नदीमै रहेको अलौकिक परशुरामधामले जिल्लाको शान र मान थपेको छ ।

स्कन्द पुराणले वर्णन गरेको घटालथान हुँदै पुरातात्विक कस्याको टाकुरोबाट बिहान सौन्दर्य अवलोकन गर्नुको मज्जा नै बेग्लै हुन्छ । यी थुप्रै सम्पदाको बेजोड सङ्गम हो डडेलधुरा । तरपनि यस सुन्दर भूमिमा पर्यटक उतिसारो पुग्न सकेका छैनन् ।

‘धार्मिक आस्था एकदमै छ हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुको । विशेष गरी हिन्दु धर्मसँग सम्बन्धित मन्दिर, देवी, देवालय प्रशस्तै छन् ।’ अमरगढी – ५ का दानबहादुर भण्डारीले भने ।

प्राकृतिक सौन्दर्यका कारण त डडेलधुरा खास छ नै । यहाँका गाउँ नै पिच्छे हुने अलौकिक जात्राले जिल्लामा धार्मिक पर्यटनको आशा पनि उतिकै जगाएको छ । बस्ती बस्तीमा मनाने धार्मिक तथा पुरातात्विक जात्राले सदाबहार रूपमा छुट्टै रौनक थप्ने गरेको छ ।

आन्तरिक र बाह्य पर्यटनका दृष्टिकोणले अथाह सम्भावना बोकेको डडेलधुराका चाहे अमरगढी किल्ला होस या अजयमेरुकोट, पशुराम क्षेत्र, घटाल थान एकै दिनमा घुमफिर गरी फर्किन सकिन्छ । यहाँको आलितालको सौन्दर्यमा रमाउन चाहानेहरुको लागि पनि पुग्नै पर्ने गन्तव्य हो डडेलधुरा ।

भारतीय सीमा सहरका धार्मिक पर्यटकलाई आकर्षित गर्न सकेको खण्डमा पर्शुराम हुँदै घटानलस्थान, डडेलधुराको उग्रतारा मन्दिरका साथै बैतडीका चर्चित धार्मिकस्थलसम्म जोड्न सकिने अगरगढी – ४ का गणेशबहादुर मगरले बताए ।

धार्मिक तथा ऐतिहासिक स्थलहरूको थप प्रचारप्रसार गर्नसकेको खण्डमा भारतीय पर्यटक यहाँको पहिलो रोजाइ बन्न सक्छ । स्थानीय कला संस्कृतिले भरिपूर्ण सुदूरपश्चिमलाई धार्मिक तथा पुरातात्विक एवम् ऐतिहासिक क्षेत्रमा रूपमा पनि चिनाउन ढिला हुने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित