इरानका अफसिन इस्माइल गदरजादे भए संसारको सबैभन्दा होचा व्यक्ति

इरानका अफसिन इस्माइल गदरजादे संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् । उनको उचाइ ६५.२४ सेन्टिमिटर छ।

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन्। उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन्। जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ।

होचो भएकै कारण उनी स्कुल जान सकेनन्। तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उनी निकै खुसी छन्। उनी गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन्।

उनमा शारीरिक कमजोरी भएपनि मानसिक समस्या नरहेको उनका बुबा इस्माइल गदरजादे बताए। अफसिन स्मार्टफोन चलाउन सिपालु छन्। तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ।

स्थानीयबासीमाझ अफसिन निकै लोकप्रिय छन्। तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन्। त्यसैले बुबाआमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ। उनी आफैँ हिँड्न सक्छन्। तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन्।

यसअघि २०१० मा ६७.०८ सेन्टिमिटरका नेपालका खगेन्द्र थापामगर विश्वकै होचा व्यक्ति बनेका थिए। एक वर्षपछि उनको कीर्तिमान तोडियो। फेरि २०१२ मा नेपालका चन्द्र डाँगी सबैभन्दा होचा व्यक्ति भए।

५४.६ सेन्टिमिटरका उनी हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा व्यक्ति हुन्। तर, २०१५ मा उनको निधनपछि थापामगर फेरि होचा व्यक्ति बने। २०२० मा उनको पनि मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित