सरकार गठन आह्वान गर्ने राष्ट्रपतिको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएलगत्तै राष्ट्रपति कार्यालयले सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी शुरू गरेको छ ।

आयोगले बिहीवार निर्वाचन परिणामको प्रतिवेदन बुझाएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी हुन् ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले बढीमा एक साताभित्र संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत सरकार निर्माणका लागि आह्वान हुन सक्ने बताए ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी प्रावधान छ । ७६(१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ,’ भन्ने उल्लेख छ।

यसपटक कुनै पनि दलले बहुमत नपाएको हुनाले ७६ (१) अनुसार सरकार गठन हुन सक्ने परिस्थिति छैन । त्यसैगरी ७६ (२) मा ‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ भनिएको छ ।

जति सक्दो छिटो सरकार दिनु राष्ट्रपतिको दायित्व भएको ढकालले बताए । ‘नयाँ जनादेशअनुरूप जति सक्दो छिटो सरकार दिनु राष्ट्रपतिको दायित्व हुन गएको छ,’ ढकालले लोकान्तरसँग भने, ‘त्यसका लागि संविधानको परिधिभित्र रहेर राष्ट्रपतिज्यूले छिटोभन्दा छिटो सरकार निर्माणको प्रक्रिया थाल्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित