अधिकांश गायकगायिकाको पहिलो प्लेटफर्म हुनेगर्छ प्रत्यक्ष दोहोरी। त्यहीबाट सिक्दै उनीहरु संगीतक्षेत्रमा विस्तारै छाउँछन्। लोकदोहोरी साँझमा दाम कमाए पनि नामका लागि मुलधारमा छाउनैपर्छ।
जसमा पर्छन् लोक गायक राजु परिवार पनि। प्रत्यक्ष दोहोरीबाटै करियर सुरु गरेका राजुलाई छाडा र दुईअर्थी शब्दहरुमा दोहोरी खेल्न पटक्कै मन पर्दैन। जसकारण पछिल्लो समय लोकदोहोरीमा मौलाएको विकृति देखेर चिन्तित छन् उनी।
लोकदोहोरीमा देखिएको विकृतिलाई कलाकारहरुले स्वयमले नै सुधार्न आवश्यक रहेको तर्क छ परियारको। भन्छन्,‘गीत गाउने सेल्फसेन्सर हुन जरुरी छ। आफूले कस्तो गीत गाउँदै छु, समाज पनि छ भन्ने हेक्का राख्नुपर्छ। साथै लोकदोहोरी सम्बन्धित संस्थाले यस्ता समस्यालाई नजिकबाट नियाल्नुपर्छ।’
लोकदोहोरी गायिका शर्मिला गुरुङले पनि लोकदोहोरी गलत बाटो हिडिरहेको बताउँछिन्। एकछिन रमाइलो गराउने प्रवृत्तिले दोहोरी क्षेत्र नै दुइअर्थी र यौनिकता प्रचार गर्ने थलो बन्दै गएको उनको आरोप छ। भन्छिन्, ‘लोकदोहोरी छाडापन भित्रिएको देख्दा निकै दुख लाग्छ। यस्ता गीतहरुले लोकदोहोरीको परिभाषा फोहोरी बनाइदिएको छ।’
प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष रविन लामिछानेको भनाई भने फरक छ। दुईअर्थी शब्द प्रयोग गरेर लाइभ दोहोरी गाउनु नयाँ कुरा नभएको उनी बताउँछन्। यद्यपि यसले निरन्तरता भने पाउन नहुनेमा संघ सचेत रहेको लामिछाने दाबी गर्छन्।
‘यो विषय धेरै भइसक्यो। पहिले पनि हामीले लाइभ लोकदोहोरी गाउनेहरुलाई धेरै छाडा नगाउनु भनेर सम्झाएका छौँ। संस्थामै बोलाएर छलफल गरेका छौँ। पहिलेको तुलनामा कम भएको छ। सयौँ गीत आउँदा एक/दुई आउनु स्वभाविक हो। फेरि मिडियाले पनि राम्रा दोहोरीको समाचार नै लेख्दैन। खाली नराम्रा दोहोरीको मात्रै समाचार बनाउँछ,’ उनले भने।
लोकदोहोरी क्षेत्रमा काम गर्नेहरुलाई जीवन धान्न गाह्रो भएका यस्ता गीतहरु आइरहेको लामिछाने सुनाउँछन्। उनले भने, ‘हामीले यस्ता दोहोरी खेल्नेहरुसँग कुरा गरेका थियौँ। धेरैजसोले सामान्य दोहोरी गीत गाउँदा युट्युबमा भ्युज जाँदैन भन्ने कुरा आयो। कमाई नभएका कारण छाडा गीत गाएको देखियो। तर, त्यही कारणले यस्ता गीत गाउनु गलत हो। भ्युज र चर्चाले यसरी गायकगायिकाले लोक दोहोरीको मर्म मार्नु हुँदैन।’
पहिले अनि अहिलेका लोकदोहोरी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको विधानअनुसार दोहोरी गीत भन्नाले पुरुष र महिलाको बीचमा लोकलयमा आधारित गीतको माध्यमबाट गरिने दुःख, सुख, माया, प्रीति, पीडा, वेदना आदि जस्ता भावनात्मक अभिव्यक्तिको प्रतिस्पर्धालाई बुझाउँछ।
तर, अहिले लोकदोहोरीको परिभाषा नै परिवर्तन हुँदै गएको छ। पछिल्लो दोहोरीहरु लाइभ दोहोरी नभएर स्क्रिप्टेड दोहोरी भएको लोक गायक तथा गीतकार शिव हमाल बताउँछन्। हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवम् प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्।
अहिलेका लाइभ दोहोरीहरुले दर्शकमाथि भ्रम सिर्जना गरिरहेको हमाल दाबी गर्छन्। उनी भन्छन्, ‘अहिलेका लाइभ दोहोरीले दर्शकमाथि ठूलो भ्रम फैलाइरहेको छ। जसलाई प्रत्यक्ष दोहोरी भनिन्छ ती स्क्रिप्टेड दोहोरी हुन्। लाइभ दोहोरी भनेको विशुद्ध संस्कृति हो। पहिले लाइभ दोहोरी खेल्दा तत्काल नै दोहोरीमार्फत सवालजवाफ फर्काइन्थ्यो। तर, अहिलेका लाइभ दोहोरीहरु पाँच जनाले सिकायो एउटाले गाउँछन्। स्क्रिप्टअनुसार कतिखेर रुने, कतिखेर हास्ने, के शब्द मिलाउने सबै मिलाइएको हुन्छ। जसले गर्दा वास्तविक लाइभ दोहोरी गाउने नै ओझेलमा परेका छन्। किनकी चर्चामा आएकालाई नै मेला महोत्सवमा बोलाइन्छ।’
पहिलेका प्रत्यक्ष लोकदोहोरी निकै अनुशासित र मर्यादित ढंगमा खेलिने उनी सुनाउँछन्। ‘पहिले गाउँले परिवेशमा एकअर्कालाई आदर र सम्मान गरेर दोहोरी खेलिन्थ्यो। कसैको त गाउँदागाउँदै मायाप्रेम बसेर बिहे नै हुन्थ्यो। लाइभ दोहोरीले जुटाइदिएका कैयौ सम्बन्धहरु छन्। पहिले दोहोरी खेल्दा बहिनी भनेर सम्बोधन गरेपछि माया लाउ भन्न नपाइने, रंगविभेदको कुरा गर्न नमिल्ने, एउटै ट्रयाकमा गाउनुपर्ने र एकअर्कालाई व्यक्तिगत अपमान, लाच्छना लगाउन नमिल्ने नियमहरु हुन्थे। तर, अहिले लाइभ दोहोरीको प्याटर्नमा निकै परिवर्तन आएको छ। बिना नीतिनियम नै जथाभावी रुपमा दोहोरी खेलिन्छ,’ हमालले भने।
लोकप्रियता कमाएका गायकगायिकाले छाडा दोहोरी नगाउने हमाल सुनाउँछन्। उनका अनुसार हिड्न नसक्ने र समाजको मान्यता राख्न नसक्नेहरुले चर्चामा आउन ‘छाडा’ दोहोरी ल्याएका हुन्। लोकदोहोरीमा आएको विकृतिले समग्र दोहोरीकै गलत व्याख्या भइरहेको बताउँदै अश्लीलतालाई श्रृंगार मान्न नसकिने उनले धारणा राखे।
लोकदोहोरीमा बाल गायकगायिका
पछिल्लो समय कमलाका साथै आयुषा गौतम, सुप्रिम मल्ल ठकुरी, रबिना बसेल, पुजा देवकोटा, किशन सिजापतिलगायतका बालकलाकार लाइभ लोकदोहोरीमा देखिने अनुहार हुन्। उनीहरु वयस्क गायकगायिकाझै मायाप्रेमका गीतहरु गाउँछन्। तर, गायिका शर्मिला गुरुङ भने बालबालिकाहरुले मायाप्रेमका गीतहरु गाउन नहुने तर्क राख्छिन्।
शर्मिला भन्छिन्, ‘मैले पनि बच्चादेखि नै गीत गाउँदै आएकी हुँ। त्यतिखेर बालगीत गाउने चलन थियो। बालगीतमार्फत हामी पढ्दा कपीकलम नपाएका कुरा राख्थ्यौँ। परिवारका दु:ख र वेदना पोख्थ्यौँ। तर अहिले भने साना बालबालिकाले पनि ठूलाझै मायाप्रेमका गीतहरु गाएको देखिन्छ जुन राम्रो होइन्। साथै बालबालिकालाई प्रयोग गरेर अरुलाई घोचपेच गर्ने खाले दोहोरीगीत गाउन लगाउनु बालबालिकाको दुरुप्रयोग हो।‘
बालबालिकालाई प्रयोग गरेर छाडा गीत गाउन लगाउनुलाई गलत कार्य मान्छन् प्रत्यक्ष लोकदोहोरीका अध्यक्ष लामिछाने पनि। ‘बालबालिकालाई छाडा खाले गीत गाउन लगाउनु गलत हो। यदि उनीहरुले प्रसंगअनुसार आफैँ बुझेर गाएको हो त्यो रोक्न मिल्दैन। किनकी हामीले दोहोरीको नयाँ पुस्ता पनि तयार पारेर अगाडि बढाउनुपर्छ। तर, ठूलाले सिकाएर गाएको हो भने त्यो दोहोरी होइन बालबालिकामाथिको शोषण हो।’
राजु पनि बालकलाकारहरुलाई लोकदोहोरीमा प्रयोग गरिएकोबारे अभिभावकले ध्यान दिनुपर्ने धारणा राखे। ‘बालबालिकालाई शब्दको खासै ख्याल हुन्न। कतिपयले बालबालिकालाई पैसा कमाउने माध्यमका रुपमा प्रयोग गरिरहेका हुन्छन्। आफ्नो छोराछोरीलाई कसरी प्रयोग गरिएको छ भनेर अभिभावक स्वयम नै सचेत हुनुपर्छ।
बालबालिकालाई प्रत्यक्ष दोहोरीमा पठाउँदा अभिभावकले पनि सचेत हुनुपर्ने शिव हमाल सुनाउँछन्। भन्छन्, ‘चर्चाका लागि आमाबुवाले आफ्ना सन्तानलाई मिडियामा ल्याउनु गलत हो। अलिअलि दोहोरी जान्यो भन्दैमा मिडियामा ल्याउनले उनीहरुमा स्टारडमको भूत चढ्न थाल्छ। जसकारण उनीहरुले धेरै कुरा सिक्न पाउँदैनन्। अभिभावकले त बालबालिकालाई सिकाउने र संस्कार दिने हो। उनीहरुको कलालाई प्रोत्साहन गर्नुको साथै दिर्घकालसम्म टिक्ने बनाउने हो। त्यो नदिएर यौनजन्य गीत गाउन दिनु हुँदैन। सबैभन्दा दोषी आमाबुवा हुन् त्यसपछि डलरको खेती गर्नेहरु हुन्।’
कमलाको प्रसंग जोड्दै त्यसरी अदालतमा विचारधिन मुद्दामा बोल्न नहुने हमाललेमत राखे। उनले भने, ‘पहिलो कुरा त्यो १० लाखको कुरा ल्याउनु गलत हो। जुन मुद्दाको कानुनले फैसला गरेको छैन। यस्ता विचाराधिन केसबारे सार्वजनिक रुपमा बहस गर्न पाइदैन। त्यसमाथि उहाँहरु दुबै कलाकारिता क्षेत्रको मान्छे हो। एकअर्काको व्यक्तिगत जिन्दगीसँग जोडेर त्यसरी गाउनु दण्डनीय कार्य हो। दोस्रो कुरा त्यति सानो नानीले त्यसरी गाउनु भनेको दुखको कुरा हो। उनले पक्कै गाएकी होइनन्। उनलाई सिकाइएको हो।’
यसअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले छाडा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै कलाकारलाई सचेत गराइसकेको हमालको तर्क छ। प्रतिष्ठानसँग व्यक्तिगत र संस्थागत रुपले समेत खबरदारी गरेता पनि राज्यले सेन्सरसिफको अधिकार नदिएको उनले सुनाए। ‘अश्लीलतालाई श्रृंगार मान्न सकिदैन। हामीले पटकपटक व्यक्तिगत तथा संस्थागत रुपमा खबरदारी गरेका थियौँ। एकदुईमहिना कम हुन्छ फेरि नयाँ आउँछ। कसलाई हिट हुन मन लाग्छ। फेरि संगीतलाई दुर्गन्धित बनाउने काम हुन्छ।’





















Discussion about this post