पेरिस सेन्ट-जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सी बार्सिलोना नजाने पत्रकार मार्कल लोरेन्टेले बताएका छन्। हालसालै एक ट्वीट गर्दै लोरेन्टेले मेस्सी विभिन्न कारणहरुले गर्दा बार्सिलोना फिर्ता नजाने बताएका हुन्।
लियोनेल मेस्सीले सन् २०२१ मा बार्सिलोनासँगको आफ्नो २१ वर्ष लामो सम्बन्धको अन्त्य गरेका थिए। जब उनी क्लबमा आफ्नो बसाइ लम्ब्याउन इच्छुक थिए, क्याटालान्सहरू आर्थिक समस्याका कारण उनको सम्झौता विस्तार गर्न असमर्थ भए।
बार्सिलोना रहन नमिल्ने भएसँगै मेस्सी पिएसजी पुगेका थिए। बार्सिलोनामा तहल्का मच्चाइसकेका मेस्सीलाई पिएसजीले आकर्षक पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको थियो। जसलाई मेस्सीले सहर्ष स्वीकार गरेका थिए।
पिएसजीमा मेस्सीको सम्झौता यस सिजनको अन्त्य सम्मका लागि मात्रै छ। यस्तोमा उनी पिएसजी मै सम्झौता थप गर्लान् की अन्यत्र जालान् भन्ने प्रश्न उठिरहेको छ। गएको केहि समय देखि मेस्सी बार्सिलोना फिर्ता हुने चर्चा पनि छ।
साथै बार्सिलोनाका अध्यक्ष देखि प्रशिक्षक सम्मले मेस्सीलाई फिर्ता ल्याउन क्लब तयार रहेको बताउँदै आएका छन्। तर पत्रकार लोरेन्टे भने मेस्सी बार्सिलोना फिर्ता हुने कुरालाई मान्न तयार छैनन्। उनका अनुसार मेस्सी बार्सिलोना फिर्ता हुने कुनै सम्भावना छैन।
लोरेन्टेले ट्वीटर मार्फत मेस्सी किन बार्सिलोना फिर्ता हुन सक्दैनन् भन्ने प्रष्ट पार्ने प्रयास गरेका छन्। सन् २०२१ मा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आफूलाई झुक्याएको मेस्सीको बुझाई रहेको लोरेन्टे दावी गर्छन्।
त्यस्तै बार्सिलोना आर्थिक समस्यासँग जुधिरहेका कारण पनि मेस्सी बार्सिलोना फिर्ता हुने सम्भावना नदेखिएको लोरेन्टेको दावी छ। गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले आर्थिक श्रोत जुटाउन विभिन्न तरिका अपनाएको थियो। त्यसबेला बार्सिलोनाले टेलिभिजन अधिकारको हिस्सा समेत बिक्री गरेको थियो।
आर्थिक पक्ष सुधारका लागि गर्न सक्ने काम गरिसकेका कारण बार्सिलोनाले थप आर्थिक भार बहन गर्न नसक्ने लोरेन्टेको बुझाई छ। त्यस्तै पिएसजी पनि मेस्सीलाई सहजै गुमाउने पक्षमा छैन। आर्थिक रुपमा खुलेर खर्च गर्न सक्ने पिएसजीले सहजै मेस्सीलाई जान दिने कल्पना पनि गर्न सकिँदैन।





















Discussion about this post