झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ । बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् ।
फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् । तर कक्षाकोठामा पढेको पाठ नि ? बालबच्चाले कक्षाकोठामा औसत सात घण्टा बिताउँछन् । त्यस अवधिमा उनीहरुलाई विभिन्न पाठ पढाइन्छ ।
त्यसरी पढेका र पढाइएका पाठ उनीहरुले सरसर्ती बुझ्न सक्दैनन् । पढेकामध्ये थोरै कुरा मात्र उनीहरुले ग्रहण गर्छन् । त्यसैले त दिनभर पढाइका कुरा पुनः स्मरण गरोस् भनेर गृहकार्य दिने गरिन्छ ।
फिल्मका दृश्यहरु झैं पाठ्यक्रमका अक्षरहरु किन छिचोल्न सक्दैनन् बालबच्चाले ? तपाईंलाई लाग्दो हो, फिल्म भनेको मनोरञ्जन हो । मनोरञ्जन गर्नु र पाठ पढ्नु अलग कुरा हो । तर मूल कारण त्यसो होइन ।
फिल्ममा कुनै कथा हुन्छ र त्यसलाई प्रस्तुत गर्ने श्रव्यदृश्यको माध्यम अपनाइएको हुन्छ । त्यहाँ घटना, संवाद, पात्र, हाउभाउ, ध्वनि सबै कुरा हुन्छ । यसलाई दृश्यभाषा पनि भनिन्छ । दृश्यभाषालाई हाम्रो मस्तिष्कले सहजै ग्रहण गर्छ ।
सिकाउने सही तरिका
सबै बालबालिकाले एउटै तरिकाले सिक्छन् भन्ने हुँदैन । उसको सिक्ने तरिका के हो थाहा पाएर त्यही तरिका अनुसार सिकायो भने उसले त्यो कुरा छिटो सिक्छ । कोही बच्चा ‘अडियोटरी’ अर्थात् सुनेर सिक्ने हुन्छ, कुनै बच्चा ‘भिजुअल’ अर्थात् देखेर सिक्ने हुन्छ भने कुनै ‘काइनेस्थेटिक’ अर्थात् हाउभाउले सिक्ने हुन्छ ।
आफ्नो बच्चा कस्तो छ भनेर कसरी थाहा पाउने भन्ने तनाव अभिभावकलाई हुन सक्छ । त्यस्तोमा कुनै बच्चालाई जाऊ चिया बनाएर ल्याऊ भनेर अह्राउनुभयो । ग्याँस बाल, त्यसपछि पानी राख, चिनी, चियापत्ती राख भनेर पठाउनुभयो र उसले चिया बनाएर ल्यायो भने ऊ ‘अडियोटरी’ हो । उसले सुनेर नै बुझ्छ ।
बच्चालाई भनेर मात्र हुँदैन उसले तपाईंले एक पटक बनाएर देखाउनुस् अनि म बनाउँछु भन्यो भने उ ‘भिजुअल’ हो । बच्चाले म बनाउँछु, तपाईं नजिक बसेर सिकाउनु सँगै बनाऊँ भन्छ भने ऊ ‘काइनेस्थेटिक’ हो ।
शिक्षकले पनि बच्चा जुन शैलीको हो त्यो थाहा पाएर त्यही अनुसार उसलाई पढाउनुपर्छ । यदि बच्चा ‘भिजुअल’ हो उसलाई ‘अडियोटरी’ शैलीमा पढायो सिकायो भने बुझ्दैन । त्यसो हुनाले यदि बच्चा ‘भिजुअल’ हो कि ‘अडियोटरी’ वा ‘काइनेस्थेटिक’ हो भनेर थाहा छैन भने उसलाई यो तीनवटै शैली अपनाएर पढायौं भने उसले बुझिहाल्छ ।
के पढाउने भन्ने कुरा भन्दा पनि कसरी पढाउने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । विभिन्न रिसर्चले के भन्छ भने हामीले कुनै पनि कुरा अरूलाई बुझाउन खोज्दा तीन पक्षले बढी महत्त्व राख्छ शब्द, प्रस्तुतीकरण र शारीरिक हाउभाउ ।
कुनै कुरा बुझ्न आवाजको सात प्रतिशत मात्र भूमिका हुन्छ । कुन तरिकाले प्रस्तुत गरिन्छ त्यसले ३८ प्रतिशत भूमिका खेल्छ भने शारीरिक हाउभाउले भने ५५ प्रतिशत भूमिका खेल्छ ।
कनै एउटा फिल्म हामीले दुई घण्टा हेर्दा पूरै याद हुन्छ । किनकि फिल्ममा अडियो, भिजुअल र काइनेस्थेटिक तीनवटै कुरा हुन्छन् । शिक्षकले पढाएको कुरा भने सजिलै बुझ्दैन, किनकि त्यसमा यी शैली अपनाएको हुँदैन । त्यसैले अब बालबालिकालाई विद्यालयमा पढाउँदा पनि यो अडियोटरी, भिजुअल र काइनेस्थेटिक शैली अपनाउनुपर्छ । तब हाम्रो शिक्षा पास हुने मात्र होइन, जीवनमा लागू हुने खाले हुन्छ ।





















Discussion about this post