पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई ठगी गर्दै शंकास्पद कारोबार गरेको भेटिएपछि उनीसहित ६ जना पक्राउ परेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार शाहसहितका ६ जनाले ‘हन्टिङ रिजर्भ अफ नेपाल प्रालि’ लगायतका दर्जनौं कम्पनीका नाममा शंकास्पद कारोबार गरेको भेटिएको छ। शंकास्पद कारोबारमा संलग्न भएको आरोपमा शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको उनले बताए।
ब्युरोका अनुसार आरोपितले अमेरिकी नागरिक जुलिया होडेजलगायतका व्यक्तिसँग ‘एन्टी भाइरस’ नवीकरण गर्न भन्दै सम्पर्क स्थापित गरी कम्प्युटरमा पहुँच पुर्याई नवीकरणबापतको रकम पठाउन भनी झुक्याएर रकम लिएको देखिएको छ।
उनीहरूले ‘वायर स्क्यान’ गरी ‘स्विफ्ट’ मार्फत ४६ लाख ४६ हजार अमेरिकी डलर (करिब ६१ करोड ५२ लाख रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (करिब २० लाख ३४ हजार रुपैयाँ), तीन करोड २२ लाख २८ हजार रुपैयाँ रकम प्राप्त गरेको ब्युरोले जनाएको छ।
‘शाहसहितका ६ जनाले विदेशी नागरिकलाई ठगी गरेर शंकास्पद कारोबार गरेको पाइएपछि पक्राउ गरेका छौं,’ एसपी थापाल भने, ‘उनीहरूले नेपाल सरकारसँग अनुमति नलिई कारोबार गरेको पाइयो।’
शंकास्पद कारोबार गरेको आरोपमा प्रहरीले शाहसहित अछाम बन्नीगढी–६ का विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखा खोपाचाँगु–२ का अनुप खड्का, नवलपरासी बर्दघाट–४ का रुकमांगत काफ्ले, अछाम दर्ना–६ का रंगबहादुर साउदलाई पक्राउ गरेको हो।
ब्युरोले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ। उनीहरूले अमेरिकाबाट भित्र्याएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले ती कम्पनीमार्फत विदेशीलाई ठगी गरेको उजुरी पनि परेको छ। ‘शंकास्पद कारोबार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दै आएका थियौं,’ एसपी थापाले भने, ‘शाहसहितका व्यक्तिका नाममा सञ्चालन गरेका व्यक्ति र कम्पनीका खातामा करोडौं रुपैयाँ शंकास्पद कारोबार देखिएपछि पक्राउ गरेका हौं।’
शाहले नेतृत्व गरेका ती कम्पनीमा अन्य व्यक्ति पनि साझेदार देखिएका छन्। शाहसहितले गैरकानुनी तवरले प्राप्त गरेको रकम विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खातामा जम्मा गर्दै आएको पाइएको छ।





















Discussion about this post