टुक्राटुक्रामा परिणत भीमकाय जहाज दुर्घटनापछिको भयानक दृश्य । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा लामबद्ध लास । ओहोरदोहोर गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र, अस्पताल परिसरमा सल्लाझैं सुसाइरहेका मृतकका आफन्तहरु ।
दृर्घटना भएको दोश्रो दिनको खोज तथा उद्धार रोकिँदासम्म ७० जनाको मात्रै शव फेला परेको छ, २ जना अझै बेपत्ता छन् । हामी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह अगाडि थियौं । आइतबारबाटै शव पहिचान गरेर घर लैजान नपाएका मृतकका आफन्तहरु पीडासँगै आक्रोशमा थिए । सुरक्षाकर्मीसँग उनीहरुको नोंकझोंक चलिरहेको थियो ।
भावविह्वल दृश्य देखेर थकित थिएँ । उनीहरुको अवस्था देखेर भित्रभित्रै गलिसकेको थिएँ । तर, बाध्यता थियो । चुपचाप, रिर्पोटिङका लागि उभिइरहें । तर, भिडमा धेरैबेर उभिनै सकिनँ । ‘जाऊँ हामी, यहाँ धेरै बस्न सकिँदैन,’ सँगै रिपोर्टिङमा जानुभएका विनोद (ढुंगाना) जीले भन्नुभयो ।
‘हुन्छ । जाऊँ,’ केही प्रश्न नगरी हठात् जवाफ फर्काएँ । अफिस पुग्नुअघि खाजा खाने सल्लाह भयो । एउटा रेस्टुरेन्टमा पस्यौं । खाजाकै पर्खाइमा थियौं । विनोदजीले एउटा टिकटक भिडियो लाइभ देखाउनुभयो ।
जहाज दुर्घटना भएको ठाउँबाट लाइभ गरिएको भिडियो थियो त्यो । विपिन गुरुङ नामबाट भइरहेको टिकटक लाइभ भिडियो ४ हजारभन्दा बढीले हेरिरहेका थिए ।
बीचबीचमा कसैले फूल उपहार पठाउँथे । उनी बदलामा खुसी हुँदै प्रतिक्रिया पठाउँथे, ‘थ्यांक्यू … ! थ्यांक्यू … ! लाइभमा जोडिनुस् है ! आउनुस् लास निकाल्दै छ हेरौं । यो लास निकालेर ऊ त्यहाँ राख्छ …. ।’
भिडियो पनि लामो समयसम्म हेरिरहन सकिनँ । हातगोडा फतक्क गले । अहो ! हामी त कति संवेदनाहीन भइसकेछौं । सामाजिक सञ्जालको पछि लाग्दालाग्दै कति हो कति एक्लो भइसकेछौं, मानवीयताहीन भइसकेछौं । यो कारुणिक, वियोगपूर्ण क्षणमा पनि मजाक । रमिते बनिरहेका संवेगविहीन प्रवृत्तिप्रति केही लेख्नुपर्छ ।





















Discussion about this post