वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ। पिँढीदर पिँढीरुपमा मिथिलाञ्चल भरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै आएकाले आज एका बिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसानले हलो गोरु पूजा गरिहेका जलेश्वर नगरपालिका-८ का किसान रामबाबु चौधरीले बताए।
आज एका बिहानै किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् भने घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर तीनको पूजा गरिरहेका छन्।
त्यस्तै किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्नेछन्। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको जलेश्वर नगरपालिका-६ का किसान गणेश साहले बताए।
किसानले आजका दिन हलोमा धार लगाउने कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारहरुलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्।
श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्।
मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ-आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन्।
हलो गोरु पूजाको अवसरमा मिथिलाञ्चलको गाउँ गाउँमा सयौँ गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुसीले गद्गद् हुन्छ।
हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वर लगायत जिल्लाको १० नगरपालिका ५ गाउँपालिका गरी १५ वटै स्थानिय तहको सयौँ गाउँमा धुमधामका साथ मनाईदै आएको छ भने मिथिलाञ्चलको प्रत्येक जिल्ला तथा गाउँगाउँ र भारत बिहारमा पनि यो पूजा मनाउने चलन रहेको जलेश्वर नगरपाकिला–११ का वयोवृद्ध किसान किशुन विच्छा बताउँछन्।





















Discussion about this post