कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा तिर्दै आफ्नो कार्यकाल सकिन लागेको भन्दै गुनासो पोखेका छन् ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । तर जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले सुनाए ।
नयाँ आर्थिक वर्षका लागि पुरानै कार्यक्रम राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना भएपछि उनले अहिले असन्तुलित बजेट आउने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’ नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मूल उदेश्य हुने उनले बताए । अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।
दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम भने शुक्रबार बहुमतले पारित भइसकेको छ।प्रदेशसभाको १०औँ अधिवेशनको ११ औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए।





















Discussion about this post