सांसद थममाया थापाले निहारिका राजपूत ‘कुमारी आमा’ को न्यायका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले एउटी महिला दूधे बालकलाई लिएर न्यायका लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो भएको भन्दै आपत्ती जनाइन्।
‘राज्यले थाहा नपाएजस्तो गरेको छ। कानमा तेल हालेर बसेको छ,’उनले भनिन्,’ न्यायका लागि सरकार उदासिन किन?’ १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा निहारिका राजपूतले माइतीघरमा आमरण अनसन सुरु गरेकी छन् ।
अनसनमा उनले आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने पाँचवटा माग राखेकी छन् ।
निहारिकाको न्यायका लागि राज्यले थाहा पाएर पनि थाहा नपाएजस्तो गरेको उनको आरोप छ। महोत्तरीका शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कारपछि उनी गर्भवती भएकी थिइन्। उनको अहिले २१ महिनाको बच्चा छ।
मन्त्री थापाले आफ्नो न्यायका लागि नेहरिकाले राज्यका सबै तहमा पुगेर भीख माग्दा पनि न्याय नपाभएपछि बाध्य भएर आमरण अनसन बसेको बताइन्। स्वास्थ्य अवस्था कमजोर भएको र बच्चाले आमाको दूध खान नपाउँदा छटपटाइरहेको उनले बताइन्।
मन्त्री थापाले घटनाको तत्काल छानविनको माग गरिन्। उनले भनिन्,’ घटनाको तुरुन्त छानबिन होस् र अपराधीलाई हदैसम्मको कारबाही होस्। उनको माग पूरा गरियोस्।’ उनले महिला हिंसाजस्ता जघन्य अपराधिक घटनामा सरकार गम्भीर नभएको आरोप लगाइन्।
समाजमा हजारौं महिला हिंसाको शिकार भइरहेको बताउँदै उनले परिवार र समाजको डरले यस्ता खालका घटनारुलाई बाहिर ल्याउन नसकेर उनीहरु भ्रूण हत्या गर्न बाध्य भएको बताइन्।





















Discussion about this post