सेनाले भन्यो, ‘त्यो चिठ्ठी आधिकारिक हो, सहकार्यका लागि चिठ्ठी पठाएकै हो ’

नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सार्वजनिक पत्रको सान्दर्भिकता अहिले नभएको जनाएको छ। सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई स्टेट नेशनल गार्डसँग सहकार्यका लागि अनुरोध गर्दै लेखेको पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकताबारे प्रश्न उठिरहेको छ।

यसमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्र आधिकारिक नै भएको पुष्टि गरेको हो। नेपालमा विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षतिमा छिमेकी तथा विभिन्न मित्र राष्ट्रले उद्धारमा सहायता गरेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको भन्दै जंगी अड्डाले फेरि झन् ठूलो भूकम्प जाने भनेपछि सन् २०१५ मा आधुनिक उद्धार प्रविधि र अनुभव साटासाटका लागि विभिन्न देशलाई अनुरोध गर्ने क्रममा अमेरिकालाई अनुरोध गरिएको र अहिले त्यसको सान्दर्भिकता नरहेको जनाएको हो।

‘त्यो चिठ्ठी आधिकारिक हो। सन् २०१५ को तत्कालीन आवश्यकताका आधारमा पत्राचार गरिएको हो। अहिले २०२२ मा आउँदा त्यो सान्दर्भिकता छैन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने।

महाभूकम्पले देशै अस्तव्यवस्त भएको, उद्धारका लागि विश्वलाई अनुरोध गरिएको र बाहिरका सेना आएर नेपाली सेनाले कोर्डिनेसन गरेको उनले स्मरण गराए। ‘नेपालमा त्यो भन्दा ठूलो भूकम्प आउँछ भनेर भनेपछि हामीले अमेरिकी स्टेट गार्डसँग आधुनिक स्रोत साधन र प्रविधि भएकाले सहकार्य भयो भने उद्धारमा फाइदा हुन्छ भन्ने कुरा हो,’ उनले भने।

प्रवक्ता सिलवालले नेपाली सेनाले विशुद्ध विपद उद्धार अनुभव साटासाटका लागि त्यति बेला स्टेट गार्डसँग सहकार्यका लागि चिठ्ठी पठाएको बताए। ‘त्यो त्यति बेलाको कुरा हो। त्यतिखेर आईपीएसको कुरा थिएन,’ उनले भने, ‘कुनै एलाइन्समा जाने भनेर गरेको छैन। हामीलाई जानु पनि छैन।’

सेना भूराजनीतिक अवस्था र सामरिक संवेदनशीलतामा सचेत रहेको उनको भनाइ छ। ‘यी अवस्थालाई हेरेर कुनै पनि देशसँग सम्झौता हुँदैन। सेनाले गर्दैन। त्यो चिठ्ठीको सान्दर्भिकता अहिले छैन। त्यतिखेर विपदसँग छोडेर भएको हो,’ उनले प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित