भारतले चिनी नपठाए पनि अभाव नहुने

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ। पछिल्लो १५ दिनको अवधिमा किलोमै २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ।

चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए। चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए।

छलफलमा चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराएका महानिर्देशक शर्माले बताएयो। पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको सङ्घले जनाएको छ। सङ्घले उद्योगबाटै प्रतिकिलो रु ९३.८३ मा चिनी बिक्री गर्ने गरेको छ।

‘उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो’, उनले भने।

भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो। भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै २० बढाएका छन्। यसअघि प्रतिकिलो ९० मा पाइने चिनी भारतको प्रतिबन्धपश्चात ११० पुगेको छ।

चिनीको अभाव हुँदैन : सङ्घ
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक सङ्घले जनाएको छ। चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको सङ्घको जनाएको छ।

चिनी उत्पादक सङ्घको तथ्याङ्कानुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ। नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन्। स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने सङ्घले जनाएको छ।

सङ्घको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन्। स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट रु चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित