अमेरिकी सेनाको तालिम ठूलो कुरा होइन, अन्य देशमा पनि भइरहन्छ : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले देशको प्रधानसेनापतिलाई संसदीय समितिको बैठकमा बोलाएर लामो समय राख्नु ‘लज्जास्पद’ भएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्व परराष्ट्र मन्त्रीसमेत रहेकी कोइरालाले यस्तो बताएकी हुन्।

‘देशको सेनापतिलाई कारबाही गरेजस्तो, यहाँ ल्याएर यत्रो बेर राख्नु भनेको नेपालकै लागि यो लज्जास्पद कुरा हो,’ उनले भनिन्, ‘अरुलाई मात्र भनेर वा राष्ट्रवादी भनेर कहिल्यै पनि नेपालमा विकास हुन सकेन।’

नेपालमा अमेरिकी सेनाले तालिम दिने कामलाई ठूलो नमान्न आग्रह गर्दै कोइरालाले अन्य मुलुकमा पनि यस्तो अभ्यास हुने तर्क गरिन्। ‘नेपालमा अमेरिकी सेना आएर तालिम दिने काम अन्य मुलुकमा पनि गरिरहेको हुन्छ,’ कोइरालाले भनिन्, ‘किन भारत र चीनको नाम सुन्दा एकदम आत्तिएर अफगानिस्तान वा युक्रेन बनाइदिन्छ कि? भनेर डराउनुपर्ने के कारण छ?’

उनले प्रधानसेनापति प्रभुराम शर्माको कुरामा सबैभन्दा बढी विश्वास भएको बताइन्। ‘प्रधानसेनापतिको कुरामा मलाई सबैभन्दा बढी विश्वास भयो। उहाँहरूबाट धेरै अनुभव छ। उहाँले जुन कुरा राख्नुभयो, ट्रेनिङ, नेचुरल डिजास्टरको कुरा,’ उनले अघि भनिन्, ‘जुन नेपालमा मात्र नभई सबै देशमा हुन्छ। अमेरिकामा पनि विभिन्न देशका सेना जान्छन्। चीनमा पनि जान्छन्।’

अमेरिका र चीनको कुरा हुँदा धेरै हो हल्ला हुन थालेको भन्दै आफूलाई त्यो ठीक नलागेको उनले बताइन्। ‘चीनले विकास गर्यो भने एकथरीलाई मन पर्दैन, भारतले गर्न खोज्यो भने अर्को थरीलाई मन पर्दैन। अमेरिका आयो भने मन पर्दैन, यसो हुँदा नेपालको विकास हुँदैन।’ उनले भनिन्, ‘प्रधानमन्त्री, प्रधानसेनापति, परराष्ट्रमन्त्रीले भनिसक्नु भएको छ, अब कति यसलाई लिएर गइराख्ने? कामै नपाएजस्तो। काम छैन, यसैमा रमाएर बसेको जस्तो। यहाँ पनि यही हाम्रो अरु काम छैन? देश विकास गर्नु छैन?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित