काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्।
उनका अनुसार अभियानको प्रमुख लक्ष्य चर्को ब्याजदरका कारण घरबारविहीन बनेका लाखौँ नेपालीलाई आफ्नो घर–जग्गा फिर्ता गराउनु र गरिब नेपालीहरूको ऋण मिनाहा गर्नु हो। त्यस्तै सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिनुपर्ने, मध्यम वर्गीय व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग उनले दोहोर्याएका छन्।
उनले लेखेका छन् :
जिएनजी पुस्तालाई धन्यवाद।
अब जिएनजीको नेतृत्वमा बन्ने सरकारले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू
२०७९ साल फागुन १ गते, मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु भएको हाम्रो अभियान आज आएर आंशिक रूपमा भए पनि सफलताको उचाइमा पुगेको छ। शोक र वियोगका पिडाबिच पनि, हाम्रा शब्द र सपनाले यथार्थको रूप लिएको हुँदा हामी आज अत्यन्तै हर्षित छौँ।
वर्षौँदेखि हामीले उद्घोष गर्दै आएका सत्यहरू आज प्रमाणित भएका छन्। त्यसैले हर्षका आँसु र वियोगका आँसु आज एकसाथ हाम्रो आँखाबाट बगिरहेका छन्।
अब हाम्रो एउटै लक्ष्य र प्रतिबद्धता यो हो—
बैंक, सहकारी र लघुवित्तको चर्को चक्रवर्ती ब्याजका कारण घरबारविहीन बनेका लाखौँ नेपाली नागरिकलाई आफ्नै घर–जग्गा फिर्ता गराउनु।
२० लाखभन्दा मुनिका गरिब नेपालीको ऋण मिनाहा गर्नु, र सोभन्दा माथिका मध्यम वर्गीय नेपाली व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनु।
सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिएर फिर्ता गरिदिनु।
१ करोड ६० लाखभन्दा बढी परदेशिएका नेपाली युवालाई स्वदेश फर्केर जीवन पुनर्निर्माण गर्ने वातावरण सिर्जना गर्नु।
७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपाली युवालाई उद्धार गरी सुरक्षित नेपाल फर्काउनु।
नेपाललाई वैदिक सनातन धर्मसहितको धार्मिक स्वतन्त्र हिन्दु अधिराज्यका रूपमा पुनर्स्थापना गर्नु।
हाम्रो आन्दोलन, हाम्रो अभियान अब यही ध्येयप्रति समर्पित हुनेछ। नेपाली जनताको पीडा, अभाव र छटपटाहटका घाउमा मलमपट्टी लगाउन हामी आफ्नो तन, मन, धन, वचन र कर्मसहित सधैँ नागरिक सेवामा तत्पर रहनेछौँ।
यो आन्दोलनलाई छोटो समयमा यति ठुलो उचाइमा पुर्याउँदै, परिवर्तनको ढोका खोल्न सफल भएका जेनजी पुस्ताका भाइबहिनीहरूप्रति हामी उच्च सम्मान र आभार प्रकट गर्दछौँ।
हामीलाई मन्त्री, प्रधानमन्त्री वा सांसद बन्ने कुनै रहर छैन। हाम्रो चाहना एउटै हो— हामीले उठाएका नेपाली जनताको माग र मुद्दाहरू अब बन्ने सरकारले पूरा गरिदियोस्।
अन्त्यमा, भगवती माता दुर्गाको चरणमा हात जोडेर यही प्रार्थना गर्दछौँ— अब कुनै पनि नेपाली नागरिक, विशेष गरी जेन–जी पुस्ताका छोराछोरीहरूले आफ्नो आमाबाबु वा अर्को पुस्ताका लागि जीवन बलिदान दिन नपरोस्।
जय देश! जय नागरिक! धन्यवाद।





















Discussion about this post