कांग्रेस र एमालेका युवा नेताहरू संयुक्त छलफलमा

काठमाडौं । उत्पन्न नयाँ परिस्थतिबारे छलफल गर्न कांग्रेस र एमालेका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् । जेन-जीको आन्दोलनपछिको परिस्थितिमा यी दलले आत्मसमीक्षा लगायत आगामी बाटोबारे धारणा बनाउन अनौपचारिक कुराकानी थालेका हुन् । यसै छलफलको निष्कर्षका आधारमा आफ्ना दलभित्र सुधार र परिमार्जनका आवाज उठाउने अनि संवैधानिक फ्रेमभित्रबाट राजनीतिक निकास खोज्ने उनीहरुको तयारी छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराईले आपसी संवाद गरेका हुन् । दलभित्र आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ । राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् । कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

‘राजा र सैन्य शासनका कुरा पनि यदाकदा गर्न थालिएका छन् । कुरा हुनु र प्रक्रियामा अगाडि बढ्न खोज्नु फरक छ । यदि प्रक्रियामा कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रनुको विकल्प छैन । यसमा हामी एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने ।

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन् । ‘संसद् भित्रकै सदस्यबाट प्रधानमन्त्री बनाएर जान सकिने अवस्था छ वा छैन भन्नेमा आ-आफ्ना बुझाइ छन् । संसद्‌भन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने विगतको अभ्यास र अहिलेको अवस्थाबारे मूल्यांकन भएको छ । तर एउटै निष्कर्षमा पुगिएको छैन,’ एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित