जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा गणपति झाले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ। झाले सेवा अवधिमा चार करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको हो।
विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन परेपछि अख्तियारले उनीमाथि छानविन थालेको थियो।
झा २०३९ मंसिर ९ मा गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउन महिना अवकाश पाएका थिए।
विसं २०३९ देखि २०७७/७८ सम्मको समग्र आय/व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरिटी र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आयसमेत गरी दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आय/आर्जन गरेको देखिएको छ।
यस्तै, व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी ४ करोड ८७ लाख ३८ हजार २१० खर्च तथा लगानी गरेको देखिएको छ ।
यसरी झाको समग्र आय २ करोड ४२ लाख ६७ हजार १०४ बाट समग्र व्यय ४ करोड ८७ लाख ३८ हजार २१० घटाउँदा हुन आउने दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएको पाइएको अख्तियारले जनाएको छ।
झाको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचारमार्फत आर्जन गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा सो रकम जफत र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको छ।





















Discussion about this post