भरतपुर महानगरपालिकाले ५७६ करोडको बजेट ल्याउँदै

स्थानीय तह निर्वाचनपछि आएका जनप्रतिनिधिहरु धमाधम बजेट निर्माणमा जुटेका छन् । चितवनको एकमात्रै महानगरपालिका भरतपुरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब ५७६ करोडको बजेट ल्याउने तयारी गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भरतपुर महानगरपालिका बजेट अधिवेशनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । ‘हामीले आगामी वर्षका लागि भरतपुरको बजेट पाँच अर्ब ७६ करोडको सिलिङमा रहने गरी तयार पारेका छौँ’ सुवेदीले भने, ‘भरतपुरमा आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा करिब एक अर्ब रुपैयाँ बढीको हुनेगरी छलफल भएको छ ।’ आलू आर्थिक वर्षमा भरतपुरको बजेट चार अर्ब ८१ करोड १२ लाख रुपैयाँ बराबरको थियो ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमुखी पूर्वाधारलाई प्राथमिकता दिएर ल्याउन लागेको समेत सुवेदीले जानकारी दिए । ‘हामीले यस वर्षको बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका थियौँ भने अबको बजेट आर्थिक संरचना निर्माण गर्ने खालको हुनेछ’ सुवेदीले भने । आगामी आर्थिक वर्षका लागि हरेक वडालाई दुई करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गर्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

‘महानगरपालिकाले वडालाई दिने बजेटको सिलिङ बढाएको छ’ सुवेदीले भने, ‘अघिल्लो वर्ष महानगरले वडालाई एक करोड ७० लाख रुपैयाँ मात्रै प्रदान गरेको थियो ।’ यसवर्षदेखि वडाले आफ्नो बजेटको कम्तिमा १० प्रतिशत रकम शिक्षा क्षेत्रमा अनिवार्य छुट्याउनुपर्ने गरी बजेट बाँडफाँड गरिएको सुवेदीले जानकारी दिए । संघीयतालाई थप मजबुत पार्नका लागि वडालाई विनियोजन गर्ने रकममा वृद्धि गरिएको सुवेदीको भनाइ छ ।

‘वडाले कम्तिमा दुई वटा ठूला योजनाहरु रोज्न पाउने गरी बजेटको आकार निर्माण गरिएको छ’ सुवेदीले भने, ‘टुक्रे योजनाहरु बन्द गर्दै सडक पूर्वाधार निर्माण गर्दा नाली, फुटपाथलगायतको पूर्वाधार हुनुपर्नेगरी अग्रिम तयारी गर्नुपर्नेछ ।’ महानगरपालिकाले अधिकांश बजेट शिक्षा, सामाजिक र आर्थिक विकासको क्षेत्रमा लगानी गर्नेगरी बजेट निर्माण गरिरहेको सुवेदीले बताए । बजेट निर्माण र छलफलका लागि विभिन्न नौ वटा विषयगत समिति निर्माण गरी काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्न महानगरपालिले जनप्रतिनिधिहरुबाट स्रोत अनुगमन समिति, बजेट सिलिङ समिति, राजस्व अनुगमन समिति लगायतका समितिहरु निर्माण गरिएको सुवेदीले बताए ।

त्यस्तै वडा र महानगरका विभिन्न शाखा तथा महाशाखाबाट प्राप्त भएको योजना र बजेटबारे छलफल र परामर्शको काम भइरहेको सुवेदीले जानकारी दिए । ‘आगामी आर्थिक वर्षका लागि भरतपुरमा सञ्चालन गर्नुपर्ने कामको बारेमा जनताहरुसँग राय सुझाव समेत मागेका छौँ’ सुवेदीले भने, ‘कस्ता खालका योजना र विकास आवश्यक पर्छ असार ९ गतेसम्म हामीलाई सुझाव प्रस्तुत गर्न सक्नुहुनेछ ।’

भरतपुर महानगरपालिकाले यही असार १० गते बजेट अधिवेशन गर्दैछ । बजेट अधिवेशनको तयारीस्वरुप अहिले नीति तथा कार्यक्रम तयार पर्ने काम भइरहेको भन्दै सुवेदीले नगरसभा तयारी मूल समिति, नीति तथा कार्यक्रमका साथै बजेट लेखन समिति, व्यवस्थापन समिति निर्माण र काम भइरहेको बताए । जनप्रतिनिधिहरु भएको समितिले योजनामाथि छलफल गर्दै उत्पादनमुखी योजनालाई प्राथमिकता दिने काम भइरहेको सुवेदीले बताए ।

बजेट लेखनका लागि विज्ञहरुसँग छलफल भइरहेको सुवेदीको भनाइ छ । भरतपुर महानगरपालिकाले आगामी वर्षका लागि आन्तरिक आयतर्फ राजस्वबाट मात्रै एक अर्ब ५० करोड संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै समानीकरण बजेटतर्फ संघीय सरकारबाट ५२ करोड तथा प्रदेश सरकारबाट २१ करोडका साथै विभिन्न सशर्त अनुदान सहित बजेटको स्रोत व्यवस्थापन हुने सुवेदीले जानकारी दिए । महानगरपालिकाले यस वर्ष एक अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जेठ मसान्तसम्ममा ९४ करोड रुपैयाँ असुली गरिसकेको सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित