प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
पौराणिक कथा
सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।
यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।
पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।
पूजा विधि : बिहान उठेर नुहाएर शरीर शुद्ध गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।





















Discussion about this post