नेपाल प्रहरीले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि खरिद गरेको म्याट्रेसमा ५ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको छ । प्रतिथान करिब १० हजार रुपैयाँमै पाइने म्याट्रेसका लागि प्रतिथान १५ हजार रुपैयाँमा खरिद गरेपछि म्याट्रेस खरिदमा कुल ५ करोड २२ लाख रुपैयाँ घोटाला भएको आरोप लागेको हो ।
गत असार १५ गते नेपाल प्रहरीको प्रशासन विभाग अन्तर्गतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले जारी गरेको परिपत्रमा घुमाउरो भाषामा एउटै ठेकेदार कम्पनीबाट मात्रै म्याट्रेस खरिद गर्न भनिएको छ । उक्त परिपत्रमा म्याट्रेस खरिदका लागि जेएमबिडी इन्टरनेशनल नामक कम्पनीलाई छनोट गरिएको र उक्त कम्पनीले प्रदान गर्ने म्याट्रेसका लागि भ्याटबाहेक प्रतिथान १३ हजार २७४ रुपैयाँ र भ्याटसहितको मूल्य १५ हजार कायम गरिएको भनी परिपत्र पठाइएको छ ।
उक्त परिपत्र नेपाल प्रहरीको बजेट सञ्चालन गर्ने सबै शाखाहरूलाई पठाइएको छ र परिपत्रमा कोयर म्याट्रेस खरिद गर्ने प्रयोजनका लागि प्रहरीहरूको आन्तरिक सिस्टम LMBIS मा रकम पठाइ सकिएको पनि जनाइएको छ । परिपत्रमा निर्देशनालयका एसपी प्रेमबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
परिपत्रसँगै नेपाल प्रहरीले कोयर म्याट्रेस खरिद प्रयोजनका लागि कोटेसन माग गरिएको र सोही आधारमा ठेकेदार छनोट गरिएको ब्यहोरा खुल्ने पत्र पनि पठाएको छ । परिपत्रसँगै पठाइएको ठेकेदार छनोटको पत्रमा विभिन्न कम्पनीहरूले दिएको टेण्डरका आधारमा सबैभन्दा कम मूल्य दिने जेएमबिडी इन्टरनेशनललाई छनोट गरिएको र उक्त कम्पनीले भ्याटबाहेक १३ हजार २७४ रुपैयाँमा उपलब्ध गराउनेबारेको ब्यहोरा उल्लेख गरिएको छ ।
उक्त टेण्डरको कागजात र मूल्याङ्कन तथा आधार मूल्यका सम्बन्धमा २०७९ जेठ १९ गते प्रशासन विभागले सदर गरेको छ । २०७९ जेठ १९ गते प्रशासन विभागमा एआइजी रवीन्द्र बहादुर धानुक प्रमुख रहेका थिए । सोही सदरका आधारमा प्रहरीले प्रति युनिट ९ लाख ५० हजारका दरले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि १६५ युनिटमा म्याट्रेस खरिदका लागि पैसा पठाएको थियो ।
सोही परिपत्र र बजेट विनियोजनपछि देशैभरका प्रहरीका लागि यतिबेला जेएमबिडी इन्टरनेशनलले प्रहरीका लागि चिराग कम्पनीको बोण्डेड प्लस कोयर म्याट्रेस खरिद गरी उपलब्ध गराएको छ । उक्त कम्पनीले उपलब्ध गराएको चिराग कम्पनीको ७२ इञ्च लम्बाई, ३६ इञ्च चौडाइ र ४ इञ्च मोटाइ भएको म्याट्रेसलाई प्रतिथान १५ हजार रुपैयाँमा उपलब्ध गराइएको छ ।
यसबारेमा प्रहरी प्रधान कार्यालयसँग सम्पर्क गरी म्याट्रेस खरिदमा के भएको हो भनेर जानकारी माग गर्दा ‘टेण्डर आव्हान गरी बोलपत्र माग गर्दा सबैभन्दा कम रकम बोलकबोल गर्ने जेएमबिडी इन्टरनेशनलको मूल्यलाई आधार मानी पठाइएको तर त्यहीँबाट सोही मूल्यमा खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था नरहेको’ जवाफ दिएको छ ।
प्रशासन विभागका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘हामीले सबैभन्दा सस्तो मूल्य उपलब्ध गराएको कम्पनीको आशयपत्रलाई परिपत्र गरेका हौँ । तर त्यही कम्पनीबाट सोही मूल्यमै लिनुपर्छ भनेका छैनौँ । उस्तै गुणस्तरको सामान सस्तो मूल्यमा पाएमा अन्यत्रबाट पनि लिन सकिन्छ ।’
प्रहरीले १५ हजार हालेको म्याट्रेसको खुद्रा मूल्य १० हजार मात्रै !
नेपाल प्रहरीले ब्यारेकमा बस्ने आफ्ना प्रहरी कर्मचारीका लागि प्रति थान १५ हजार रुपैयाँ हालेको म्याट्रेसको बजार मूल्य भने १० हजार रुपैयाँ मात्रै रहेको पाइएको छ । एक होस्टल कम्पनीले आफ्ना लागि मगाएको कोटेसन रातोपाटीलाई प्राप्त भएको छ । प्राप्त कोटेशनमा नेपाल प्रहरीले नै किनेको चिराग कम्पनीको ७२ इञ्च लम्बाई, ३६ इञ्च चौडाइ र ४ इञ्च मोटाई भएको म्याट्रेसलाई प्रतिथान १० हजार ६८ रुपैयाँमा उपलब्ध गराउने बताइएको छ ।
डिल्लीबजारमा रहेको जय बाबा फर्निसिङले उपलब्ध गराएको कोटेसन अनुसार सोही गुणस्तर, सोही साइजको २ वर्ष वारेण्टी भएको म्याट्रेसको मूल्य ५ हजार ७१० रुपैयाँमा १३ प्रतिशत भ्याट जोड्दा हुन आउने ६ हजार ४५२ रुपैयाँ राखिएको छ । त्यसैगरी सोही गुणस्तर र साइजको ५ वर्ष वारेन्टी भएको म्याट्रेसको मूल्य ८ हजार ९१० रुपैयाँमा १३ प्रतिशत भ्याट जोड्दा हुन आउने १० हजार ६८ रुपैयाँ राखिएको छ ।
बजारमा २ वर्ष वारेन्टी भएको म्याट्रेस तत्कालै किन्न पाइन्छ भने ५ वर्ष वारेन्टी भएको म्याट्रेसका लागि करिब १० दिन कुर्नुपर्ने जय बाबा फर्निसिङले बताएको छ ।





















Discussion about this post