तनहुँलाई बजेट अभाव हुँदैन, विकासको जिम्मा म लिन्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणमा ढिलासुस्ती नगर्न सुझाव दिएका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा आइतवार आयोजित सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा वरिष्ठ नेता पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताए।

तनहुँ जिल्लामा भइरहेका विकास गतिविधिबारे चासो राख्दै वरिष्ठ नेता पौडेलले यस्तो भनेका हुन्। ‘विकास निर्माणका काममा निर्माण व्यवसायीको ढिलाइ र कमीकमजोरीलाई प्रशासनले कडाइ गर्नुपर्छ।’

उनले भने,’गलत काम गरे कानूनबमोजिम दण्ड जरिवाना व्यहोर्नुपर्छ भन्ने अनुभूति दिलाउनुपर्छ।’वरिष्ठ नेता पौडेलले साउन मसान्तभित्र विकास योजनाको ठेक्का सम्झौता गरिसक्नु पर्नेमा जोड दिए।

विकासका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित कार्यालयको तर्फबाट पटक–पटक अनुगमन गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे। तनहुँको विकासका लागि बजेटको कुनै कमी नहुने बताउँदै पौडेलले जिल्लाको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा जिल्लास्थित पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुले आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न भएका कार्यक्रमबारे प्रस्तुती राखेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित